पाल्पा । गैरसरकारी संस्था महासंघ पाल्पाको आयोजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुका लागि जलवायु उत्थानशिल कार्य सुदृढीकरण सचेतनामूलक अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

आयोजकका अनुसार पाल्पाको रामपुर नगरपालिकासँगै निस्दि, पूर्वखोला, बगनासकाली र रिप्दीकोट गाउँपालिकामा यो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले जलवायु परिवर्तनका कारण मानव भविष्य नै संकटमा रहेको बताएका थिए । उनीहरुले विश्वमै चुनौतिको रुपमा रहेको जलवायु परिवर्तनको उत्थानशिलताको कार्यका लागि गम्भीरताका साथ लाग्न आवश्यक रहेको समेत बताएका छन् ।

विकाससंगै विनास निम्त्याई जलवायुमा ठुलो असर पुर्‍याएको भन्दै यसबाट नेपाल जस्तो देश बढी प्रभावित भएको पनि उल्लेख गरे । कार्यक्रमका सहभागीहरुले प्रकृतिको अधिक दोहन र कार्बन उत्सर्जनका कारण जलवायुमा आएको परिवर्तनले हरेक क्षेत्र र प्राकृतिक संरचनामा असर पुर्‍याएको बताउदै जलवायु परिवर्तन उत्थानशिल कार्यका लागि हरेक स्थानीय तह र निकायले सोही अनुसारको नीति तथा कार्यक्रम एवं योजना बनाउनु पर्नेमा जोड दिएका थिए ।

यस्तै चुनौतिको रुपमा रहेको जलवायु परिवर्तनको उत्थानशिलाका लागि मानवीय व्यवहारमा परिवर्तन संगै सबै सचेत हुनु पर्ने आवश्यकता समेत अ‍ौँल्याउदै समयमै उत्थानशिल कार्य गर्न नसके मानव र पृथ्वीको भविष्य नै खतरामा पर्ने उल्लेख गरेका छन् ।

सवै स्थानका कार्यक्रमहरुमा गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भोजराज तिमिल्सिनाले जलवायु परिवर्तन र यसको उत्थाशिलता कार्यका लागि सोही तरिकाको योजना तय गरेर जानू पर्ने सुझाव दिनुभयो । देशभरका ७ सय ५३ वटा पालिका मध्ये १ सय ५१ वटा पालिका बढी प्रभावित हुने र त्यस मध्ये पाल्पाका ७ वटा पालिका पर्ने भएकाले पहिलो चरणमा अभिमुखिकरण कार्यक्रमको थालनी गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक सागर भण्डारी लगायतले जलवायु परिवर्तनको कारण, प्रभाव र असर,गण्डकी जलाधार र परिवर्तनको जोखिम,स्थानीय तह र जलवायु परिवर्तनको मुद्दा, उत्थानशिल कार्यका उपाय र प्रयास लगायतका विषयमा अभिमुखिकरण गर्नु भएको थियोे ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख,सामुदायिक वन तथा सरोकारवालाहरुको सहभगीता रहेको थियो।