काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारी गर्न कार्यदल गठन गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अतिरिक्त सचिव डा टंक बराकोटीको नेतृत्वमा सेना तथा प्रहरीका अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने गरी व्यवस्था गर्न कार्यदल बनाउनु भएको हो। कार्यदललाई सर्वसाधारणलाई समेत सेवा दिनका लागि आवश्यक कार्यविधि तयार गर्न र कार्यान्वयनको सम्भावनाबारे जानकारी सहितको प्रतिवेदन दिन भनिएको छ ।
मन्त्री पौडेलले गत साता कार्यदललाई सशस्त्र प्रहरी बलद्वारा सञ्चालित अस्पतालका हकमा समेत अध्ययन गर्न निर्देशन दिनुभएको थियो । कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गरेर कार्यविधि तयार पार्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिका साथै सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारीहरु समेत रहेका छन् ।
सर्वसाधारणलाई समेत सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउन मन्त्री पौडेलले विगतको निर्णय कार्यान्वयन गराउन प्रक्रिया अघि बढाएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनु भयो ।