तानसेन, पाल्पा । तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले नेपालको तीनखम्बे अर्थतन्त्रमध्ये सहकारी एउटा खम्बा भएकाले यसको विकास विना आर्थिक क्रान्ति सम्भव नरहेको बताउनु भएको छ । राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याड्ढन समितिका सभापति समेत रहेनु भएका सांसद गैरेले सहकारी, सरकारी र निजी क्षेत्रको एकता समन्वय र सहकार्यबाट नै देशमा आर्थिक चलायमान हुने धारणा व्यक्त गर्नु भयो।

यस्तै पूर्व उद्योगमन्त्री एवं संस्थाका सेयर सदस्य सोमप्रसाद पाण्डेले सहकारीबाट नै स–सानो पुँजी संकलन गरी उद्यमशीलता र रोजगारी सिर्जनामा ध्यान दिनुपर्नेमा जोड दिनु भयो । सहकारीबाट देशको आर्थिक स्थितिलाई सबल र मजबुत बनाउन सकिने र सानो–सानो पुँजीबाट स–साना उद्योग व्यवसायलाई ठाउँ–ठाउँमा सञ्चालन गर्न सकिने पनि उल्लेख गर्नु भयो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री एवं संस्थाका सेयर सदस्य खेमबहादुर सारु मगरले सहकारी भनेको स–सानो पुँजी संकलन गर्ने सेयर सदस्यहरूलाई फाइदा पुग्ने गरी काम गर्ने एउटा अभियान भएको बताउनु भयो। जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सहकारी संस्था भित्र रहेका सबै सेयर सदस्यको रकमदेखि भूमिका बराबर भएको नमुना सहकारी रहेको बताउनु भयो ।

सभामा संस्थाका अध्यक्ष भोजराज पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको सेयर पूँजी १ करोड १० लाख र सहकारी बैंकमा २ लाख ८५ हजार लगानी रहेको जानकारी दिनु भयो । यस्तै सहकारीको बचततर्फ १२ करोड २२ लाख, ऋण लगानीतर्फ १३ करोड ३१ लाख र आर्थिक वर्ष २०८० ०८१ मा ऋण असुली २ करोड ६४ लाख २५ हजार ६ सय ४४ रहेको समेत उल्लेख गर्नु भयो ।
संस्थाका कोषाध्यक्ष दीपक विश्वकर्माले आर्थिक वर्ष २०८०/८१ को आय–व्यय विवरण र आगामी वर्ष २०८१/०८२ को अनुमानित आय विवरण प्रस्तुत गर्नु भएको थियो भने लेखा समितिका संयोजक गुराँस आत्रेयले आर्थिक गतिविधी सम्वन्धी बार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
साधारणसभामा उत्कृष्ट बचतकर्ताको रूपमा सेयर सदस्य नारायणी शर्मा घिमिरे र उत्कृष्ट ऋणीको रूपमा दुग्ध व्यवसाय गर्दै आएका सेयर सदस्य यादवराज घिमिरे र सबैभन्दा बढी सेयर सदस्य बनाउने कार्यसमिति सदस्य भरतराज न्यौपाने पुरस्कृत भएका थिए। भोजराज पोखरेल (रामजी) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव धनेश्वर बस्यालको गर्नु भएको थियो ।