माया राना
जल्पा, पाल्पा । हामी सवैको प्रतिबद्धता :लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने नाराका साथ मनाई रहेको यस वर्षको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत पूर्वखोला गाउँपालिका -२ जल्पामा एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा समुदायमा भई रहने विभिन्न किसिमका हिंसात्मक घटनाहरुको बारेमा छलफल गरिएको थियो । जल्पाका टोल संयोजकहरु, स्थानीय संघसंस्था तथा विद्यायलयका प्रतिनिधि र महिला स्वास्थ्य स्वयम सेविकाहरुको सहभागिता रहेको कार्यक्रममा लिङ्गको आधारमा गरिने भेदभाव, घरेलु हिंसा, सामाजिक हिंसा, हिंसाका घटनाले समाजमा पर्ने असर तथा घटना भएको खण्डमा उजुरी गर्ने निकायको बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले हरेक बर्ष अभियानकै रुपमा यो कार्यक्रम संचालन भईरहेको जानकारी गराउँदै हिंसात्मक घटनाहरुका सम्बन्धमा सवैलाई सचेत गराउन र घटना न्यूनिकरण गर्न सकिने तर निर्मुल गर्न नसकिने उल्लेख गर्नु भयो । उहाँले प्रत्येक घर घरमा, टोल टोलमा भैईरहेको हिंसा र महिलाले महिलाई गर्ने हिंसा लगायतको बारेमा समेत चर्चा गर्नु भयो । त्यस्तै ईलाका प्रहरी कार्यालय पूर्वखोलाका हवल्दार नारायण खड्काले हिंसात्मक घटना अन्त्य गर्न स्थानीय र संघीय सरकारले निर्माण गरेका कानुनहरु तथा हिंसा भएमा गर्न सकिने कानुनी उपचारको बारेमा जानकारी दिनु भयो ।

पूर्वखोला गाँउपालिकाका सामाजिक शाखा प्रमुख शर्मिला चौधरी र जल्पा वडाध्यक्ष निरबहादुर सारु लगायतले कार्यक्रममा सहजिकरण गर्नु भएको थियो । जल्पा वडा कार्यलयको ब्यबस्थापन सहयोग र पूर्वखोला गाँउपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर यो दिवस मनाईने गरिन्छ ।