एवत सारु
फोक्सिङ्गकोट, पाल्पा । गाउँगाउँमा कृषि एम्बुलेन्स सञ्चालन भएपछि रम्भा गाउँपालिकाका तरकारी उत्पादक कृषक खुशी भएका छन् । कोरोना कालको झझल्को दिंदै रम्भा गाउँपालिकाले कृषि एम्बुलेन्स चलाउन थालेपछि स—साना तरकारी उत्पादक कृषक दङ्ग परेका हुन । कोरोना महामारी हुँदा जनतालाई तरकारी उपलब्ध गराउन एम्बुलेन्स चलाए पनि आजभोलि भने गाउँमा उत्पादन भएका तरकारी र फलफुल बजारमा निकासा गर्न एम्बुलेन्स चलाईएको हो ।
बढी उत्पादन भई खेर जाने तरकारीलाई माग भएको क्षेत्रमा लगेर बेच्ने तथा कृषकमा व्यवसायीकरणको विकास गर्न कृषि एम्बुलेन्स सञ्चालन गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो । एम्बुलेन्स सञ्चालन गरिएपछि एकातिर खेरगएको तरकारीको बिक्री हुने र अर्को तर्फ तरकारी उत्पादक किसानमा आत्मबिश्वास बढ्न गइ तरकारी व्यवसायीकरण हुने वहाँले बताउनु भयो ।

रम्भा गाउँपालिका कृषि शाखाको सहजीकरणमा गाउँपालिकाका ५ वटै वडाका विभिन्न तरकारी उत्पादन क्षेत्रमा हरेक हप्ता स्थानीय स्तरमा उत्पादन भएका तरकारी संकलन गरि बजारीकरण गरिएको रम्भा गाउँपालिा कृषि शाखा प्रमुख प्रभा गौडेलले बताउनु भयो । गाउँपालिकाले सबै वडालाई समेटेर तरकारी संकलन केन्द्रबाट तरकारी निकासा गरिएको गौडेलले बताउनु भयो ।
बारीमा खेर गएको कागतीहरु आजभोली बजार पुग्ने गरेको र धेरै थोरै आम्दानी समेत भएको रम्भा २ रानीबासका कृषक हेमा सारुले बताउनु भयो । उहाँले कागती संगै रुखे टमाटर, साग, बोडी, सिमी, बेचेको अनुभूति समेत सुनाउनु भयो । ग्रामिण क्षेत्रबाट गएको कार्तिक महिनामा फर्सी, बोडी, करेला, साग, स्कुस, मुला, काउली, कागती, बन्दा जस्ता तरकारी संकलन गरि निकासा गरिएको छ । गाउँघरमा भैंसी र बंगुरलाई खुवाईने फर्सी मात्र साढे ६ क्वीन्टल बेचिएको कृषि शाखा प्रमुख प्रभा गौडेलले बताउनु भयो । त्यस्तै बोडी, साग, काउली,मुला लगायतका तरकारीहरु धेरै निकासा गरिएको छ ।