पूर्वखोला, पाल्पा ।
पूर्वखोला गाउँपालिका रिङनेरह÷पूर्वखोला फाँटमा पूर्वखोला बृहत सिंचाई योजनाको लुम्बिनी प्रदेश उर्जा जलश्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले शिलान्यास गर्नु भएको छ ।

उक्त शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले आफु किसानको छोरी मन्त्री बनेको तथा किसानको पिरमर्का बुझेको हुनाले कृषकको चाहना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले पहाडका सिंचाई योग्य जमिनमा समेत चार बाली उत्पादन हुने गरी काम गर्नुपर्ने बताउनु भयो ।

 

कार्यक्रमका विशिष्ट अतिथि संघिय सांसद नाराणय प्रसाद आचार्यले पूर्वखोला कृषिको लागि उर्वर भूमि भएकोले पूर्वखोला बृहत सिंचाँई योजना कार्यान्वयन गर्न लागेको बताउनु भयो । लुम्बिनी प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले यस निर्वाचन क्षेत्रमा यस्ता अन्य महत्वपूर्ण योजनाहरु समेत रहेकोले बजेट विनियोजनमा पहल गर्ने प्रतिबद्धता गर्नु भयो । यस्तै लुम्बिनी प्रदेश उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव मिनराज ढकालले आफु यस क्षेत्रको स्थानीय बासिन्दा भएको र यो योजनाका लागि आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै योजनाको शिलान्यासमा सहभागी हुन पाउनु आफनो लागि खुशीको क्षेण भएको बताउनु भयो ।

कार्यक्रममा सिंचाई डिभिजन कार्यालय पाल्पाका कार्यालय प्रमुख चन्द्र बहादुर रानाका अनुसार २ करोड ३३ लाख निर्माण ब्यवसायीबाट, १३ लाख ६६ हजार ९ सय ९९ उपभोक्ता समिति मार्फत र ८ लाख २ हजार ८ सय ९६ रुपैया बराबर जनश्रमदान गरी २ करोड ६४ लाख ७६ हजार रुपैयाँ लागतमा यो योजना सम्पन्न हुनेछ । उहाँका अनुसार योजनाबाट बगुवा, आठबिसे र सोह्रबिसे गरी तीन वटा कुलोको बाँध बनाउने, पचासे, बगुवा, आठबिसे, सोह्रबिसे र बुढेरी गरी पाँचवटा कुलोमा गेग्रान थिग्राउने पोखरी निर्माण गर्ने र प्रती कुलो १०० मिटरका दरले ५०० मिटर पक्की कुलो निर्माण गर्ने काम सम्पन्न गरिनेछ । ५६० रोपनी (२८ हेक्टर) जग्गामा बाह्रै महिना सिंचाई सुबिधा पुग्ने उक्त योजनाबाट १५२ घरधुरीका गरी ८७७ जना लाभान्वित हुने छन् ।

पूर्वखोला हाट बजार स्थलमा भएको कार्यक्रममा सिंचाई डिभिजन कार्यालय पाल्पाका कार्यालय प्रमुख चन्द्र बहादुर राना, पूर्वखोला गाँउपालिका अध्यक्ष नुन बहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई, उपभोक्ता समितिका अध्यक्ष तथा पूर्व वडाध्यक्ष निलकण्ठ भट्टराई लगायतले बोल्नु भएको थियो ।

पूर्वखोला गाउँपलिाका वडा नं ३ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पूर्वखोला गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विनोद नेपालेलगर्नु भएको थियो ।