माया राना
जल्पा, पाल्पा । परियोजना व्यवस्थापन तथा समन्वय समिति (PMCC) हरुका लागि सञ्चालित हेफर आधारशिला तालिम पूर्वखोला गाँउपालिकाको ढोलीमारामा सम्पन्न भएको छ ।
सामुदायिक होमस्टे ढोलीमारामा दुई दिनसम्म सञ्चालित तालिममा न्यायोचित एवं दीगो विकासका लागि १२ वटा आधारशिला, नेतृत्व र नेतृत्वशैली, सकारात्मक प्रवृती र व्यवहार, बिभिन्न किसिमका सामाजिक मुल्यमान्यता र सिद्दान्त, स्व-मुल्यांकन र समीक्षा लगायतको विषयमा शहजिकरण गरिएको थियो ।

तालिमका सहभागीहरुले परियोजना परिचालन देखि आफ्नो दैनिक व्यवहारमा आफुहरुलाई परिवर्तन गर्ने सीप तथा व्यवहारिक ज्ञान सिक्न पाएकोमा खुशी व्यक्त गरेका थिए । तालिमको शहजिकरण वरिष्ठ प्रशिक्षक शकुन्तला रसाली, हेफर प्रोजेक्ट प्रदेश संयोजक प्रेम बयम्वु र अधिकृत शोभाखर न्यौपाने लगायतले गर्नु भएको थियो।
भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ति सिकाऔं भन्ने नारा तथा आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित उक्त तालिममा पूर्वखोला गाँउपालिकाका शाखा प्रमुखहरु, ६ वटै वडाका वडाध्यक्ष, गाँउ कार्यपालिका सदस्यहरु र साझेदारी संस्था समाज उत्थान सहयोग केन्द्रका कर्मचारीहरुको सहभागीता रहेको थियो।

तालिम समापन समारोहमा बोल्नु हुदैं पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले यस प्रकारको तालिमले प्रभावकारी योजना सम्पन्न गर्न तथा व्यक्तिगत जीवनमा व्यवहारिक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । यस्तै प्रशिक्षक शकुन्तला रसालीले मानवीय चेतना सबैभन्दा महत्वपुर्ण हुने बताउदै मानवीय चेतना विकास र नयाँ ज्ञान प्राप्तीको लागि पुनर्ताजकीय तालिमको भूमिकालाई भुल्न नहुने बताउनु भयो।
साझेदारी संस्था समाज उत्थान सहयोग केन्द्रको संयोजन र व्यवस्थापन तथा पूर्वखोला गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक एवं प्राबिधिक सहयोगमा सञ्चालित तालिमको समापन कार्यक्रम समाज उत्थान सहयोग केन्द्र नेपालका कार्यक्रम संयोजक राजकुमार आलेले सञ्चालन गर्नु भएको थियो ।