पाल्पा, देवीनगर ।
पूर्वखोला गाउँपालिकाको आयोजना र देवीनगर वडा कार्यालयको समन्वयमा उपभोक्ता समितिका पदाधिकारीहरुको लागि क्षमता विकास तालिम सम्पन्न भएको छ ।

तालिममा पूर्वखोला गाउँ कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने गाउँपालिकाका सवै योजनाहरुलाई सजिलो, दिगो एवं प्रभावकारी बनाउन तथा बजेट भुक्तानीमा उपभोक्ताहरुलाई सहज बनाउने उद्देश्यले तालिम संचालन गरेको बताउनु भयो । उहाँले यस प्रकारको तालिम पालिकाको सवै वडाहरुमा संचालन गरिने समेत जानकारी गराउनु भयो ।

यस्तै योजना शाखाका प्रमुख विनोद नेपालले योजना र आयोजनाको सम्झौता गर्न आवश्यक कागजपत्र तथा प्रक्रियाहरुको बारेमा जानकारी गराउँदै उपभोक्ता समितिको निर्णय, प्राविधिक स्टेटमेन्ट, अध्यक्ष, सचिव र कोषाध्यक्षको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, वडाको सिफारिस, योजनाको छाप अनिवार्य चाहिने जानकारी गराउनु भयो । नेपालले योजना संचालन गर्न पेस्की चाहिएमा कुल बजेटको ३३ प्रतिशत दिन मिल्ने व्यवस्था भएको समेत जानकारी गराउनु भयो । देवीनगरको सभाहलमा सञ्चालित उक्त तालिममा प्राविधिक शाखाका सवइन्जिनियर देवेन्द्र थापा र देवीनगर वडाका सवइन्जिनियर घनश्याम ठाडाले योजनाको स्टेटमेन्टमा आवश्यक पर्ने कागजपत्र एवं प्रक्रियाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

लेखा शाखाका दिपक कवरले बजेट भुक्तानी गर्दा उपभोक्ता समितिको निर्णय, प्राविधिक मुल्यांकन, वडाको सिफारिस, खरिद सामाग्रीको भ्याट वा प्यान विल, खर्च सार्वजनिकको निर्णय फोटो, चेकको फोटोकपि अनिवार्य पेस गर्नु पर्ने बताउनुभयो । तालिम समापनमा देवीनगर वडाका वडाध्यक्ष मेहर सिं थापाले यो तालिमले देवीनगरका उपभोक्ताहरुलाई योजना संचालन गर्न ठुलो सहयोग पुग्ने र वडाले पनि नियमित रुपमा अनुगमन एवं सहजिकरणमा सहयोग गर्ने बताउनु भयो । तालिममा यस वर्ष देवीनगरमा उपभोक्ता समिति मार्फत संचालन हुने ३५ वटा योजनाहरु सम्पन्न गर्न गठित उपभोक्ता समितिका ५० जनाको सहभागीता रहेको थियो