तानसेन, पाल्पा । नेपाल राष्ट्रिय ज्ञानमाला पश्चिमाञ्चल क्षेत्रिय उपसमितीको आयोजनामा भएको महिला बौद्ध जागरण अभियान अन्तर्गत ३ महिने हार्मोनियम प्रशिक्षण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

बुद्ध शिक्षा, बुद्ध उपदेश, बुद्ध ज्ञान र बुद्ध ध्यानलाई भजन मार्फत संसारभर फैलाउने उद्देश्यका साथ सञ्चालित बुद्ध भजन सहितको ३ महिने हार्मोनियम प्रशिक्षणको तानसेन टक्सार महाचैत्य विहारमा पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेले समापन गर्नु भएको हो । समापन कार्यक्रममा बोल्दै पूर्वमन्त्री पाण्डेले बुद्ध शिक्षा र ज्ञानलाई संसारभर प्रचार–प्रसार गर्न सके नेपालको उन्नती प्रगति थप तीव्र गतिमा हुने विश्वस व्यक्त गर्नु भयो । उहाँले तानसेनको श्रीनगरमा संसारकै ठूूलो बुद्ध मुर्ति निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन र तानसेनलाई लुम्बिनी पछिको दोस्रो बुद्ध धार्मिक स्थल बनाउन केन्द्र सरकार तथा चीन, जापान, कोरिया जस्ता देशसँग पनि सम्पर्क गर्दै आएको समेत उल्लेख गर्नु भयो ।

समितिका केन्द्रिय उपाध्यक्ष विमलबहादुर शाक्यले पाल्पामा भएको महिला हार्मोनियम प्रशिक्षण कार्यक्रमले अन्य जिल्लाहरुमा उत्साह र दवाव बढाएको बताउदै आगामी दिनमा अन्य जिल्लामा पनि बुद्ध शिक्षा प्रचार–प्रसार गर्न हार्मोनियम प्रशिक्षण अभियान सञ्चालन गरिने बताउनु भयो । कार्यक्रममा बौद्ध रचना तथा संगितकार डा.सोभियतलाल बज्राचार्य, बरिष्ठ पत्रकार मेघराज शर्मा, तानसेन नगरपालिका–३ का वडाध्यक्ष बाबुरत्न शाक्य, महाचैत्य विहार टक्सारका अध्यक्ष मनिन्द्र बज्राचार्य, बौद्ध अगुवा संजयराज शाक्य, हार्मोनियम प्रशिक्षार्थी अर्चना शाक्य बज्राचार्य लगायतले बुद्ध शिक्षा, ज्ञान तथा उपदेशहरुलाई थप प्रभावकारी रुपमा प्रचार–प्रसार गर्नको लागि ३ महिने हार्मोनियम प्रशिक्षण कार्यक्रम प्रभावकारी रहेको बताएका थिए ।

ज्ञानमाला पश्चिमाञ्चल समितिका संयोजक केशवलाल बज्रचार्यले नेपालमै पहिलो पटक महिलाहरुलाई सामुहिक हार्मोनियम प्रशिक्षण कार्यक्रम गरिएको बताउनु भयो । राष्ट्रिय ज्ञानमाला समितिकी अध्यक्ष रमना श्रेष्ठले अहिले सबै देश, व्यक्तिहरुलाई बुद्ध ज्ञान, शिक्षा र उपदेशको खाँचो रहेको र बुद्धको शिक्षा र ज्ञानलाई भजनको माध्यमबाट प्रचार–प्रसार गर्न सबै एकजुट भएर लागेको बताउनु भयो । बुद्ध ज्ञानलाई संसारभर फैलाउन २०५१ सालमा ज्ञानमाला समिति निर्माण गरी जिल्ला जिल्लामा भजन अभियान सञ्चालन हुँदै आएको छ ।