तानसेन, पाल्पा । मखनटोल टोल विकास संस्था तानसेन पाल्पाको आयोजनामा सञ्चालित ४ दिने जुस बनाउने तालिम सम्पन्न भएको छ ।
तानसेन नगरपालिका ४ नंं वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिममा १२ वटा टोलविकास संस्थाका ३० जना महिलाहरुले स्थानीय उत्पादन, सुन्तला, मौसम, बेलाउती, स्याउ लगायतका सरसमानहरु प्रयोग गरेर स्थानीय रुपमा जेली, जाम र जुस बनाउने सीप सिकेका छन् ।
प्रशिक्षक कुशल ठाडाले शहजिकरण गर्नु भएको तालिमको समापन कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनका महिलाले जुस जाम बनाउँदा स्थानीय उत्पादनको प्रयोग हुने भएकाले कृषकको आयआर्जनमा समेत वृद्धि हुने र महिलाको आयआर्जनमा पनि टेवा पुग्ने बताउनु भयो । उहाँले तलिममा सिकेको सीपलाई कार्यान्वयन गरी निरन्तर जुस, जाम, जेली बनाएर उद्योगकै रुपमा स्थापित भएर गुणस्तरीय उत्पादन गरेमा आवश्यक पर्ने सरसामान देखि बजारीकरणमा समेत नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यस्तै नगर प्रवक्ता यादव सिंह कार्कीले तालिमलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन नगरपालिकाबाट समेत सहयोग प्रदान गर्न सकिने बताउनु भयो । वडाध्यक्ष हेमन्तराज शाक्यले वडाका महिला लक्षित बजेटबाट महिलाको आयआर्जनमा बृद्धि गर्न र उत्पादनशिल कार्यमा महिलालाई लगाउन यो कार्यक्रम गरिएको उल्लेख गर्नु भयो ।
तालिममा सहभागी टोपराज श्रेष्ठ र मोहन कुमारी थापाले पनि तालिम व्यवहारिक भएको र आफुहरुले दिनहुँ जुस बनाउन अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। मखनटोल टोल विकास संस्थाले बनाएको जुस आगामी सडक खाना महोत्सवमा विक्रि गर्ने जनाएको छ ।