बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवल नेपालमा आइएसओ प्राप्त पहिलो सामुदायिक विद्यालय बनेको छ । कान्ति माध्यमिक विद्यालय बुटवलको ७१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहमा आइएसओ नेपालका कन्ट्री डाइरेक्टर सुदिप शर्माले विद्यालयलाई आइएसओ प्रमाणपत्र प्रदान गर्नु भएको हो ।

उक्त समारोहको उद्घाटन गर्दैै बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले बुटवल मुलुकको शैक्षिक केन्द्र भएकोले यहाँका हरेक शैक्षिक संस्थाहरुले कान्ति माविको सफलताबाट प्रेरणा लिएर आफ्ना शैक्षिक योजना बनाउन सुझाव दिनु भयो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले कान्ति माविको शैक्षिक सफलताले बुटवलको सफलतामा महत्वपूर्ण ईटा थपेकोले आगामी दिनहरुमा प्राविधिक शिक्षा अगाडि बढाउनका लागि नगरपालिकाले सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका प्रमुख माधव बन्जाडेले कान्ति माविको शैक्षिक गुणस्तर सुधारको प्रयास र शिक्षक कर्मचारीको लगाव र प्रतिबद्धतामा रूपन्देही मात्र नभएर देशकै विद्यालय शिक्षाको लागि गौरवको विषय भएको र यसलाई कायम राखी राख्ने चुनौतीको सामना गर्ने क्षमता कान्ति माविको टिममा रहेको उल्लेख गर्नु भयो । यस्तै भुतपुर्व विद्यार्थीको संस्थाका अध्यक्ष गोपाल अधिकारीले विद्यालयको शैक्षिक, भौतिक र प्राविधिक सफलताका लागि अल्मुनाई एशोसिएशनले हरेक प्रकारका सहयोग र सहकार्य गर्ने बताउनु भयो ।

कार्यक्रममा विभिन्न संघसंस्थाहरू, उत्कृष्ट अभिभावक, उत्कृष्ट शिक्षकहरु मोहन भट्टराई, केशवराज भण्डारी, खुमराज पौडेल, चन्द्रकला न्यौपाने, कर्मचारी निर्मला देवकोटा र केशव श्रेष्ठ एवम् शिक्षा पत्रकारितामा योगदान दिनु हुने पत्रकार विकास पराजुलीलाई सम्मान गरिएको थियो । यस्तै अक्षयकोषदाता, उत्कृष्ट नतिजा प्राप्त गर्ने कक्षा १२, एसईई र कक्षा ८ उत्तीर्ण विद्यार्थीहरु र एमबीबीएस, हन्जिनियरिङ, वन, फार्मेसी, बीडीएस, एएससी नर्सिङ, बीबिए लगायतमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । नर्सरी देखि कक्षा १२ सम्म अध्यापन गर्ने १०२ जना शिक्षक तथा कर्मचारीहरूलाई समेत नतिजाको आधारमा सम्मान गरिएको थियो ।

कार्यक्रममा विज्ञान प्रदर्शनी, पुस्तक प्रदर्शनी, नगरस्तरीय लोक भजन प्रतियोगिता, सचेतनामूलक नाटक र विविध सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको थियो । वार्षिकोत्सवकै अवसरमा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थी एवम् विज्ञहरुका लेख रचनाहरु समावेश गरी हरेक वर्ष प्रकाशन गरिने कान्ति दर्पणको समेत विमोचन गरिएको थियो ।

कान्ति माविका संरक्षक एवं बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले विद्यालयको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो।