रामपुर, पाल्पा । नवनिर्मित भवनको निर्माण कार्य सम्पन्न भई हस्तान्तरण गरेसँगै गत साउन देखि आफ्नै भवनबाट सेवा शुरु गरेको पूर्वी पाल्पाको ईलाका प्रशासन कार्यालय रामपुरको गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नु भएको छ ।

उद्घाटन कार्यक्रमकै अवसरमा गृहमन्त्री लेखकले राष्ट्रिय परिचय पत्र र राहदानी सेवाको समेत शुभारम्भ गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका लेखकले रामपुरसँग आफ्नो अति नजिकको सम्बन्ध रहेको बताउदै कालिगण्डकीको प्राचिनतम सभ्यता रहेकोले यो अति महत्वपुर्ण रहेको बताउनु भयो । यहाँले जिल्ला प्रशासन कार्यलय पाल्पाबाट दिने सेवाका साथै पासपोर्ट र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा समेत थप भएकोले पूर्वी पाल्पाका जनतालाई सुविधा हुने बताउनु भयो । विधिको शासन, शान्ति सुरक्षा अमन चयन विना कुनै पनि काम नहुने भन्दै गृहमन्त्री लेखकले  शान्ति सुरक्षा पहिलो शर्त भएको उल्लेख गर्नु भयो । उहाँले आजै पाल्पा रामपुरमा २०४६ सालमा शहीद हुनुभएका शहीद सूर्य घिमिरेको शालिकको समेत अनावरण गर्नु भयो ।

नेपाल सरकारका गृह सचिव गोकर्ण मणि दुवाडिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले भाडामा लिएर शुरु गरेको ईलाका प्रशासन कार्यलय रामपुरको नयाँ भवन निर्माण भई सेवा समेत विस्तार हुनु सवैको लागि खुशीको विषय भएको बताउनु भयो । यस्तै राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मि गैह्रेले कर्मचारी समायोजन तथा स्थानीय निकायका कर्मचारी व्यवस्थापनका कुरालाई जोड्दै कालीगण्डकी करीडोरको बाटोमा पर्ने ४ वटा पुल अस्तव्यस्त भएको जानकारी गराउनु भयो । गैडाकोट देखि आउने करीडोरमा पाल्पाको पनि अझै केहि भागमा काम पुरा नभएको बताउदै विकास निर्माणमा सबै लाग्नु पर्ने बताउनु भयो । लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रामपुर अस्पतालमा अब एक हप्तामै अस्पताल विकास समिति तयार हुने भन्दै अस्पताललाई व्यवस्थित गरेर लैजाने बताउनु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले जनतालाई दिने सेवा चुस्त दुरुस्त र छिटो छरितो हुनु पर्नेमा जोड दिनु भयो । सम्पर्ण पालिकाहरुको तर्फबाट बोल्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले कालिगण्डकीको डाइर्भसनको कुराले पूर्वी पाल्पाका जनता चिन्तीत भएको बताउदै गृह मन्त्रीको ध्यानकर्षण गराउनु भयो । कार्यक्रममा जिल्ला समन्य समितिका टंकनाथ खनालले विभिन्न योजनाको काम समयमा सम्पन्न नहुने समस्या बढि भएको अनुगमनका क्रममा भेटिएको भन्दै योजनाको कामहरु पारर्दशि हुनु पर्ने बताउनु भयो । उहाँले यातायात भाडादरमा कच्चि र पक्कि बाटोको भाडादरमा समायोजन गर्न समेत अनुरोध गर्नु भयो ।

कार्यक्रममा पत्रकार महासघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सीनाले जुन सुकै कार्यलयमा जादा पनि सेवा ग्राहिलाई छिटो र सजिलो ढंगले सेवा दिनु पर्नेमा जोड दिनु भयो । यस्तै पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुबेदिले समग्र पाल्पाको समस्याको बारेमा जानकारी गराउनु भएको थियो ।

२०७३ साल असार १० गते पाल्पाको पुर्व क्षेत्र समेटेर रामपुरमा इलाका प्रशासन कार्यालय स्थापना भएको थियो । इलाका प्रशासन कार्यालय रामपुरले हाल रामपुर नगरपालिकाका १० वटै वडा, निस्दीको १ देखि ६ वडा नम्बर र पुर्वखोला गाउँपालिकाको १ नम्बर वडा गरि १७ वडालाई सेवा दिदै आएको छ । दैनिक ६५ देखि ७० वटा नागरिकता, द्रुत राहदानी, जनजाति आदिवासी, दलित तथा नाबालिक प्रमाणित साथै संस्था नविकरण हुदै आएको इलाका प्रशासन कार्यालय रामपुरको २०७३ सालमा गाविस कार्यालयको कच्ची भवनमा तत्कालिन गृहमन्त्री शक्ति बस्नेतले कार्यालय उद्घाटन गर्नुभएको थियो ।