बगनासकाली, पाल्पा ।
कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजना र बगनासकाली गाउँपालिकाको प्रवर्धनमा यहि पुस ९ गते देखि १८ गतेसम्म पाल्पाको बगनासकाली गाउँपालिका – १ चिलाङ्दीमा पाल्पा महोत्सव हुने भएको छ ।
जिल्लाको पर्यटन प्रवर्धन, व्यापार एवं स्थानीय कलासंस्कृति तथा धार्मिक सांस्कृतिक महत्वलाई बढाउन महोत्सव गर्न लागिएको महोत्सव मूल समारोह समितिका संयोजक नारायण न्यौपानेले बताउनु भयो । महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संयोजक न्योपानेले बगनासकाली क्षेत्रमा गरिएको यो पहिलो र ठूलो महोत्सव भएकाले महोत्सवको प्रचार–प्रसारमा सहयोग गरिदिन पत्रकारहरुलाई आग्रह समेत गर्नु भयो।
महोत्सवमा फोटो ग्यालरी र स्थानीय कलासंस्कृति, झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौरा, मारुनी, लाखे, पञ्चेवाजा, लोपोन्मुख कुमाल, बोटे लगायतको कलासंस्कृति प्रस्तुत गरिने आयोजकले जनाएको छ । महोत्सवमा कृषि, घरेलु उद्यम, शिक्षा, प्रविधि र व्यापारका गरी १ सय ५० स्टल रहने महोत्सवको पहिलो दिन उद्घाटन समारोहमा कल्चर एण्ड कन्ट्री विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
महोत्सवमा हरेक दिन राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुतीसँगै स्थानीय कलाकार र कला केन्द्रहरुको प्रस्तुती रहने महोत्सव मूल समारोह समितिका सदस्य यज्ञमूर्ति तिमिल्सिीनाले जानकारी गराउनु भयो । बगनासकाली डान्स आईडल मार्फत प्रतिभा पहिचान समेत गरिने महोत्सवमा स्थानीय किसानहरुबाट उत्पादित कृषि उत्पादनको प्रदर्शनी र कृषि उत्पादन शुलभ मूल्यमा खरिद विक्रीको व्यवस्था पनि रहनेछ ।
साधारणतर्फ ८० र विद्यार्थीहरुलाई ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको महोत्सवमा बगनासे साँचो, दुनाटपरी उद्योग, विद्यार्थीहरुवाट निर्मित शैक्षिक सामग्री प्रदर्शनको तयारी समेत गरिएको समितिका सदस्य तिमिल्सिनाले उल्लेख गर्नु भयो । महोत्सवमा करिव १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र कुल ३ करोडको कारोवार हुने आयोजकले लक्ष्य लिएको छ ।