रामपुर, पाल्पा । रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नगरबासीको प्राथमिकता र आवश्यकताको आधारमा योजना सञ्चालन तथा कार्यक्रम गर्दै आएको बताउनु भएको छ ।
उहाँले नगरको समुन्नत विकास सहित समृद्ध नगर निर्माणका लागि नगरबासीको आवश्यकतालाई केन्द्रविन्दुमा राखेर अगाडि बढेको समेत बताउनु भयो । रामपुर नगरपालिका वडा नं. १ को टापुधाममा आयोजित जनप्रतिनिधिसंग संवाद कार्यक्रम बोल्दै उहाँले यस्तो बताउनु भएको हो । प्रमुख थापाले जनताको आवश्यकता र वस्तुस्थितिलाई अझ नजिकबाट नियालेर जनताको गुनासो र सुझाव लिनका लागि जनप्रतिनिधिसंग संवाद कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्नु भयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नगरबासीको वास्तविक आवश्यकता र समस्याको पहिचानसंगै समाधानका लागि प्रतिबद्ध भएर अघि बढेकोले र यस्ता कार्यक्रमले जनता र जनप्रतिनिधि विचको दुरीलाई घटाउने विश्वास व्यक्त गर्नु भयो । उहाँले सम्भावना बोकेका विभिन्न स्थानहरुको गहन अध्ययन तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक कार्यक्रम हरुसञ्चालन गरिने पनि बताउनु भयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी र जनमुखी बनाउनका लागि नगरपालिकाले सबै वडामा जनप्रतिनिध संवाद कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनु भयो । कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं.१ का वडाध्यक्ष कपिल बहादुर खाँणले वडाको विकास निर्माणको अवस्था, वडामा रहेका समस्याको पहिचान गर्न र यसका लागि सुझाव संकलन गरी आगामी आर्थिक वर्षमा योजना बनाउन सघाउ पुगोस् भन्ने उद्धेश्य सहित यो कार्यक्रमको अवधारणा तयार पारिएको बताउनुभयो ।
धार्मिक क्षेत्रको रुपमा परिचित टापुधाममा भएको जनप्रतिनिधिसंग संवाद कार्यक्रमका सहभभागीहरुले योजना सम्झौता, टोल विकास संस्था दर्ता र सञ्चालनका लागि आवश्यक वजेट माग, विद्यालयका शिक्षक दरबन्दी ,भौतिक संरचनाको मर्मत संभार, कालिगण्डकी करिडोर सडक सुरक्षा,अपराधिक क्रियाकलाप नियन्त्रणका लागि पहल गर्न, सवारी साधन भाडादर कार्यान्वयनका लागि कडाई गर्नु पर्ने, विकास निर्माणका योजना सञ्चालन गर्दा जोखिमको मूल्याङ्कन गरेर सञ्चालन गर्नु पर्ने लगाएतका सुझाव राखेका थिए ।
१० वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य सहित वडा भित्रका विद्यालयका प्रधानाध्यापक, विभिन्न टोल विकास संस्था, समूह लगाएत सरोकारवालाहरुको सहभागिता रहेको उक्त कार्यक्रमकै अवसरमा विभिन्न विपद्मा परेका ३ जना नागरिकलाई राहत स्वरुप ४७ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग समेत वितरण गरिएको थियो ।