बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेशिन ल्याएर जनतालाई सर्वशुलभ सेवा दिने दाबी गर्नु भएको छ ।

बुटवलमा रहेको गौतमवुद्ध सामुदायिक मुटु अस्पतालको १२ औं वार्षिकोत्सव तथा चौथो अधिवेशनको अवसरमा बोल्दै स्वास्थ्यमन्त्री सारुले सरकारी अस्पतालमा एमआरआई मेशिन नहुँदा जनताले १६/१७ हजार तिरेर निजी स्वास्थ्य संस्थामा महङ्गोमा सेवा लिनु पर्ने बाध्यतालाई अन्त्य गर्दै मेशिन खरिदपछि त्योभन्दा आधा मूल्यमा सेवा उपलब्ध गराउन सकिने उल्लेख गर्नु भएको हो।

मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेको टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरुलाई समाधान गरी नयाँ प्रक्रियाबाट मेशिन गरिद गरिने पनि बताउनु भयो । यसअघिको टेन्डर प्रक्रियामा एउटा मात्र कम्पनीलाई लक्षित गरी स्पेसिफिकेशन गरिएको भनेर समाचारहरु आएर विरोध भएपछि अब उक्त प्रक्रियालाई मिलाएर सबैले प्रतिस्पर्धामा सहभागी हुन पाउने गरी स्पेसिफिकेशन तयार गरी नयाँ प्रक्रियाबाट मेशिन खरिद प्रक्रिया अघि बढाउने बताउदै मन्त्री सारुले जसरी भए पनि एमआरआई मेसिन खरिद गरेर जनतालाई शुलभ दरमा सेवा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नु भयो ।

सामुदायिक स्तरबाट स्थापना गरिएको यस अस्पतालमा सामाजिक सुरक्षा अन्तरगत जनतालाई उपलब्ध गराइएको स्वास्थ्य सेवा तथा दिर्घ रोगिको उपचार गरेबापत संघीय सरकारबाट प्राप्त गर्नुपर्ने रकम उपलब्ध गराउनका लागि आफूले समन्वय र पहलको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भयो । यस्तै स्वास्थ्य क्षेत्रमा रहेका विकृतिहरुलाई अन्त्य गर्नका लागि नीतिगत सुधारको आवश्यकता औल्याउँदै उहाँले सरकार उक्त कुरामा प्रतिवद्ध रहेको पनि उल्लेख गर्नु भयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले वर्तमान सरकारलाई काम गर्नका लागि हलसम्मकै सहज परिस्थिति रहेको उल्लेख गर्दै जनताको सेवामा समर्पित हुन आग्रह गर्नु भयो । यस्तै लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, रोटरी क्लबका गभर्नर देवेन्द्र ध्वजु, बुटवल उद्योग संघका अध्यक्ष दिलिप सापकोटा तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले बुटवललाई स्वास्थ्यको हबको रुपमा स्थापित गर्नका लागि विशिष्टिकृत स्वास्थ्य संस्थाहरुको स्थापना र बिकास गर्न आवश्यक रहेकोमा जोड दिदै अस्पतालको भवन निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रियालाई सरकारले छिटो टुङ्गोमा पुर्याउन आग्रह गरेका थिए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालका अध्यक्ष यजाज आलमले जग्गा प्राप्तिसँगै भवन निर्माणको काम थालिने उल्लेख गर्नु भयो । उहाँले हाल भाडाको घरमा सञ्चालन हुँदै आएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका लागि तिलोत्तमामा प्राप्त हुने जग्गामा २ सयदेखि ६ सय बेडको अस्पतालको रुपमा बिकास गर्ने योजना प्रस्तुत गर्नु भएको थियो ।