माया राना
जल्पा, पाल्पा । यतिबेला पूर्वखोला गाउँपालिका वडा नं। २ जल्पा ढोलीमाराका किविखेती कृषकहरु किविको ग्रेडिङ्ग गर्न व्यस्त छन् । सामुहिक किविखेतीबाट यस बर्ष उत्साहजनक फल उत्पादन भएपछि आफुहरु किविको ग्रेडिङ्गमा व्यस्त भएको जल्पादेवी कृषक समुहमा आवद्ध कृषक डोल बहादुर घर्तीले जानकारी दिनु भयो ।

ढोलीमारा गाउँका ६० जना कृषकहरु समुहमा आबद्ध भएर २५ रोपनी क्षेत्रफल जग्गामा लगाएको ८०० बोटबाट ७ क्विन्टल भन्दा बढी किवि टिपेको र ३ लाख बाराबरको बिक्रि गर्न सकिने अपेक्षा राखिएको कृषक घर्तीले बताउनु भयो । सामुहिक एकता र कृषकको सकृयताले किवि खेतीमा पाएको सफलतामा पूर्वखोला गाउँपालिका, जल्पा वडा कार्यालय र डिभिजन बन कार्यालय पाल्पाले समेत हातेमालो गरिरहेको छ । पहिलो बर्ष डिभिजन बन कार्यालय पाल्पाले किविको बिरुवा सहयोग गरेको थियो भने पूर्वखोला गाउँपालिकाले तारजाली र फलामको ट्रष्ट सहयोग गरेको थियो । चालु आर्थिक वर्षमा समेत किवि खेतीको क्षेत्र बिस्तारको लागि योजना रहेको जल्पाका वडाध्यक्ष निर बहादुर सारुले बताउनु भयो।

समुन्द्र सहत देखि एक हजार दुई सयको उचाईमा उत्पादन गर्न सकिने यो बिरुवा परीक्षण गर्दा यस क्षेत्रमा समेत राम्रो उत्पादन भएपछि समुहमा लगानी गरी ब्यक्तिको जीवनस्तर उकास्न र आर्थिक समृद्धिका लागि व्यवसायिक किवि खेतीमा लगानी गरिएको पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले जानकारी गराउनु भयो ।

कृषकको हौशला, जोस र जागरमा उर्जा सदावहार रहेमा पक्कै पनि समृद्ध समाजको निर्माणमा टेवा पुग्नेछ । त्यसैले हरेक दिन जसो जनश्रम्दानमा जुट्ने जल्पा ढोलीामाराका कृषकको मुल्य उठाउन अझै समय लाग्ने भएता पनि कृषक र श्रमको सम्मानमा सरोकारवाला निकायहरु कृषकहरुसँग हातेमालो गर्न सधै तत्पर रहुन् । मेरो पनि कामना !
