रामपुर, पाल्पा । विद्यार्थीहरूलाई मौलिक परिकार तथा सांस्कृतिक विविधता बारे जानकारी दिन रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाको ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित खाना महोत्सव सम्पन्न भएको छ।

विद्यालय पुगेका अभिभावक तथा पाहुनाले विद्यार्थीहरुले तयार पारेका गाउँघरमा पाईने सिस्नो, बटुक, सेलरोटी, यमोरी, फुरौला, खिर अचार, भुटेको मकै तथा भटमास लगाएतका परिकारको स्वाद लिनु भएको थियो । महोत्सवमा कक्षा ६ देखि माथिका विद्यार्थीहरुले कक्षा शिक्षकको सहयोगमा फरक फरक परिकार तयार गरी आफैले विक्री वितरण गरेका थिए ।

महोत्सवमा २६ वटा खानाका परिकारहरुको स्टल राखिएको थियो । स्टलहरुमा लोप हुन लागेका परम्परागत खानाका परिकारहरुलाई प्राथमिकता दिएर राखिएको सहायक प्रधानाध्यापक पूर्ण चन्द्र घिमिरेले बताउनुभयो । स्थलहरुमा मगर, नेवार, थारु लगाएत विभिन्न समुदायको मौलिक खाना संगै आधुनिक खानाका परिकार राखिएको थियो ।