पाल्पा । सार्वजनिक आधारभुत विद्यालय तानसेन १२ पाल्पाले बिजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरुलाई दशै तिहारको महत्व र आफ्नो संस्कृतिको बारेमा जानकारी दिने उद्धेश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक राम कुमारी थापाले बताउनु भयो । एक अभिभावक एक गमला, बालभित्तेपत्रिका प्रकाशन, विद्यार्थीको जन्मदिनमा सहयोग पेटिका मार्फत सहयोग संकलन लगायतका सृजनात्मक कार्य गर्दै आएको यस विद्यालयले पहिलो पटक यस्तो कार्यक्रम गरेको हो ।

बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी तथा अभिभावकहरुको समेत सहभागिता रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो । विस २०१७ सालमा स्थापना भएको यो विद्यालयमा ५ कक्षासम्म पढाई हुन्छ ।

यता ज्ञानदोय आधारभूत विद्यालय माथागढी १ चिदीपानी पाल्पाले पनि दशै विषेश कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई दशैंमा मान्यजनबाट टिका जमरा र आशिर्वाद ग्रहण गर्नुको महत्त्व लगायतको बारे जानकारी गराएको छ ।

विद्यार्थी भाइबहिनीहरुको परियोजना कार्य अन्तर्गत जमरा राखिने अन्नहरु तथा जमरा राख्ने विधि तथा दशैमा देवीहरुको पुजा गर्ने विधि परम्पराको बारेमा समेत व्यवहारिक ज्ञान दिईएको प्रअ विजयदिप पन्थीले बताउनु भयो । बिद्यार्थी भाइबहिनिहरुले दशै विशेष नृत्यमा आ-आफ्नो कला समेत प्रस्तुत गरेको शिक्षिका मेनुका थापाले बताउनु भयो ।
(प्रकाशन मिति : २०८१ असोज २१)