रामपुर, पाल्पा । रामपुर नगरपालिका भित्रका एकल आमाहरुलाई टुकी फाउण्डेशनले घर निर्माण गरी हस्तान्तरण गरेको छ । फाण्डेशनले अमेरिकी संस्था निवासको सहयोग र रामपुर नगरपालिकाको आर्थिक साझेदारीमा भुकम्प प्रतिरोधी घर निर्माण गरी मंगलबार जनप्रतिनिधि तथा स्थानीयको उपस्थितिमा हस्तान्तरण गरेको हो ।
१६ वर्ष भन्दा कम उमेरका छोराछोरी भएका तीन जान एकल आमाहरुहरुलाई भुकम्प प्रतिरोधी दुई कोठे घरसहित शौचालय निर्माण गरी हस्तान्तरण गरेको हो । फउण्डेशनले गत वर्ष रामपुर नगरपालिका वडा नं। २, ४ र ६ मा तीन वटा घर निर्माण गरेको थियो ।
रामपुर नगरपालिका– २, खयरबोटका बन्दना विश्वकर्मा, वडा नं। ४ छतिवन डाँडाका विष्णु माया राना र वडा नं। ६ माझटोलका गन माया घर्तिलाई घरको ताला र साँचो हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले श्रीमान गुमाउनु भएका साहारा विहिन महिलाहरुलाई सुरक्षित आवास प्रदान गर्नका लागि टुकी फाउण्डेशनको सहकार्यमा घर निर्माण गरिएको जानकारी दिनु भयो । नगरपालिकाले विपन्न परिवार संगै साहारा विहिन नागरिकहरुको लागि आवश्यक सहयोग गर्दै आएको बताउनु भयो ।
उनीहरुको आवश्यकताको पहिचान गरी तीन वटा घर निर्माण भएको र यस वर्ष पनि थप घर निर्माणको प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनु भयो । आवासले मात्र परिवारले परिवार चलाउन सहज नहुने भन्दै स्वरोजगारका लागि पनि सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
टुकी फाउण्डेशनका कार्यकारी निर्देशक शिला सेनले घर निर्माणको लागि प्रति घर निर्माणमा रामपुर नगरपालिकाको दुई लाख ५० हजार र अन्य खर्च फाउण्डेशनको गरी ८ लाख १४ हजार ६८० रुपियाँ १२ पैसा बराबरको खर्च भएको जानकारी दिनु भयो । आवास निर्माणमा ६० प्रतिशत फाउण्डेशनले र पालिकाले ४० प्रतिशत गरी विभिन्न स्थानमा आवास निर्माण गर्दै आएको समेत जानकारी दिनु भयो ।
फाउण्डेशनले विभिन्न जिल्लाहरुमा ५० वटा भन्दा बढी घर निर्माण गरी हस्तान्तरण गर्दै आएको जानकारी गराउदै घर हस्तान्तरण पश्चात एकल आमाहरुको जीविकोपार्जनमा सहजताका लागि उहाँहरुले इच्छा गरेको व्यवसाय सञ्चालनका लागि ३० हजार प्रदान गरिने पनि बताउनु भयो ।