होम राई मगर
निस्दी, पाल्पा । निस्दी गाउँपालिका-६, अर्चले स्थित गोरखनाथ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अर्जुन बयम्बु चयन हुनु भएको छ ।
विद्यालयमा सम्पन्न अभिभावक भेलाले बयम्बुलाई अध्यक्षमा चयन गर्दै नयाँ विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरेको हो । शिक्षा ऐनको दशौँ संशोधनमा रहेको व्यवस्थाअनुसार गठन गरिएको समितिको सदस्यमा योमाया मश्राङ्गी, गितान्जली राना र यम बहादुर बयम्बु चयन भएका छन्। त्यस्तै, शिक्षक प्रतिनिधिमा मनोज मश्राङ्गी र सदस्य–सचिवमा प्रधानाध्यापक ईश्वरी प्रसाद अर्याल रहेका छन् । पदेन सदस्यका रूपमा सम्बन्धित वडाबाट प्रतिनिधि पछि मनोनीत गरिने जनाइएको छ।
यसैबीच भेलाले लिमी सरा रानाको अध्यक्षतामा शिक्षक अभिभावक संघसमेत गठन गरेको छ । अभिभावकहरूको भेलाले विद्यालयको आगामी योजनाका विषयमा समेत छलफल गरेको थियो । नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको सक्रिय, कुशल तथा समन्वयकारी नेतृत्वले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
विद्यालयको विकासमा अभिभावकको सहभागिता र समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै नयाँ समितिले आगामी दिनमा विद्यालयका प्राथमिकताका विषयलाई अघि बढाउने विश्वास लिइएको छ ।