चार हप्ताअघि, विश्वले नेपालका हिमाली बस्तीहरूलाई बगाएर लगेको भीषण बाढीका स्तब्धकारी दृश्यहरू देख्यो, जसको उग्रतालाई धेरैले ‘हिमाली सुनामी’ नाम दिए। भोटेकोशी र त्रिशूलीको त्यो विपद् कुनै स्थानीय त्रासदी मात्र थिएन। त्यो विश्वकै लागि एउटा चेतावनी थियो। र आज म तपाईंहरूलाई सोध्न चाहन्छु— के हामीले त्यो चेतावनीलाई साँच्चै सुनेका छौं?
करिब तीन वर्षअघि सर्वोच्च शिखर सगरमाथाको फेदमा उभिएर संयुक्त राष्ट्र संघका महासचिवले मानव जातिलाई जलवायुको पागलपन र मडारिँदो विपद्बारे सचेत गराउनुभएको थियो। संसारको छानोबाट गरिएको त्यो चित्कार पर्याप्त रूपमा सुनिएन। हामी नेपालमा हुनेहरूले सुन्यौं, हाम्रा समुदायहरूले सुने, विश्वभरका वैज्ञानिकहरूले सुने र प्रमाणसहित त्यसलाई दोहोर्याए। तर हामी राजनीतिक नेतृत्वहरू ती चेतावनीहरूलाई कार्यरूपमा बदल्न, र जोखिममा रहेका नागरिकहरूलाई आवश्यक पर्ने गति र स्तरमा काम गर्न उदासीन रह्यौं।
गत महिना हामीले त्यसको दुःखद परिणाम देख्यौं। बढ्दो तापक्रमले हिमालको संवेदनशील पारिस्थितिकीलाई खलबलाइरहेको छ। पग्लिँदै गएको ‘पर्माफ्रोस्ट’ (स्थायी हिउँ तह) ले हिमनदीमुनिका पहाडी भिरालोहरूलाई चिरा पारिरहेको छ, जसले गर्दा बरफ र चट्टान खस्ने हिमपहिरो, बाढी, पहिरो तथा अन्य शृंखलाबद्ध विपद्को जोखिम तीव्र बनेको छ।