अमृतप्रसाद पौडेल
म्याग्दी, भदौ २८ गते । लोकगायक प्रकाश दुतराजले आफ्नो जन्मथलो म्याग्दीबाटै नयाँ सांगीतिक यात्राको सुरुवात गर्नुभएको छ । लोकसंगीतलाई आधुनिक प्रस्तुति र सामूहिक वाद्यवादनसँग जोड्ने उद्देश्यसहित ‘दुतराज प्रकाश एन्ड लाइनअप’ मार्फत शनिबार बेनीमा सांगीतिक कन्सर्ट सम्पन्न भएको हो ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्च खेलमैदानमा म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा दुतराजको नेतृत्वमा रहेको ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो ।
म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनमा जन्मिएका दुतराजले आफ्नो बाल्यकाल र किशोरावस्थाको महत्त्वपूर्ण समय सदरमुकाम बेनीमा बिताउनुभएको थियो । यही माटोबाट आफूले सांगीतिक सपना देखेको स्मरण गर्दै उहाँले आफ्नो नयाँ अभियान पनि जन्मथलोबाटै सुरु गर्नुभएको हो ।
दुतराजले सार्वजनिक गरेको सांगीतिक ब्यान्ड केवल नयाँ सांगीतिक समूहको घोषणा मात्र नभएर लामो समयदेखि मनमा बोकेको सपना पूरा गर्ने अवसरसमेत भएको कार्यक्रममा बताउनुभयो । पछिल्लो करिब १४ वर्षदेखि ब्यान्डको परिकल्पना मनमा राखेको बताउँदै उहाँले आफूले सपना देखेको ठाउँबाटै त्यसलाई मूर्तरूप दिन पाउँदा उत्साहित भएको बताउनुभयो ।
‘यो नेपालको पहिलो लोकसंगीत ब्यान्ड हो,’ उहाँले भन्नुभयो, ‘विभिन्न विधाका वाद्यवादक र प्राविधिकलाई समेटेर लोकसंगीतमा नौलो अभ्यासमार्फत दर्शकमाझ पुग्ने अभियान आफ्नै जन्मथलोबाट सुरु गरेको छु ।’
म्याग्दीको ग्रामीण परिवेशमा जन्मिएर हुर्किनुभएका दुतराजले सानैदेखि संगीतप्रति रुचि राख्दै आउनुभएको थियो । बाल्यकालमा बेनीमा बिताएका दिन र संघर्षका अनुभव उहाँको सांगीतिक यात्राका महत्त्वपूर्ण आधार बनेका छन् । सामान्य परिवारबाट संघर्ष गर्दै संगीतमा स्थापित हुनुभएका दुतराजले पछिल्लो समय नेपाली लोकसंगीतमा आफ्नो छुट्टै पहिचान बनाउनुभएको छ ।
उहाँका ‘मनमाया’, ‘घर कता हो बैनीको’, ‘रिमै’, ‘रेशम’, ‘छैन र माया’, ‘ऐनाझ्यालैमा’ लगायतका लोकगीत लोकप्रिय छन् । मौलिक लोकलय, ग्रामीण जीवनका अनुभूति र नेपाली समाजका भावनालाई गीतमार्फत प्रस्तुत गर्ने उहाँका सिर्जनाले उहाँलाई नयाँ पुस्तामाझ समेत लोकप्रिय बनाएको छ ।
अब भने दुतराजको सांगीतिक प्रस्तुति म्युजिक ट्र्याकमा मात्र सीमित हुने छैन । ब्यान्डमा वाद्यवादनसहित १२ जना कलाकार सहभागी छन् । प्रत्यक्ष वाद्यवादनमार्फत लोकसंगीतलाई थप जीवन्त र प्रभावकारी बनाउने उहाँको योजनाको पहिलो खुड्किलोका रूपमा म्याग्दीको कन्सर्टलाई लिइएको छ ।
‘अबको सांगीतिक प्रस्तुति ट्र्याकभन्दा पनि ब्यान्डको वाद्यवादनसहित हुनेछ,’ उहाँले भन्नुभयो, ‘जहाँ मैले सपना देखेको थिएँ, त्यहीँबाट सुरु गर्ने अवसर पाएकोमा खुसी र उत्साहित छु । ब्यान्डमार्फत संसारभर नेपाली मौलिक बाजालाई प्रवर्धन गर्ने मेरो उद्देश्य हो ।’
प्रकाशको ब्यान्डले नेपालका विभिन्न स्थानमा सांगीतिक भ्रमण गर्ने तयारीसमेत थालेको छ । नेपाली मौलिक बाजा र लोकसंगीतलाई नयाँ शैलीमा देश–विदेशका दर्शकमाझ पुर्याउने दुतराजको योजना छ ।
यसअघि जनैपूर्णिमाको अवसरमा भदौ १२ गते आयोजना गर्ने भनिएको कार्यक्रम रसुवामा आएको बाढीका कारण स्थगित भएको थियो । स्थगित कार्यक्रम भदौ २७ गते शनिबार बेनीमा आयोजना गरिएको हो । कार्यक्रममा रसुवा बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरिएको थियो ।
कार्यक्रम आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले दुतराजको सांगीतिक यात्रालाई प्रोत्साहन गर्न संघले साथ दिएको बताउनुभयो ।
‘म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवबाट गायन यात्रा थालेका प्रतिभालाई प्रोत्साहन गर्न हामीले साथ दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘विपन्न समुदायबाट आएका प्रकाशको संघर्ष र मेहनत प्रेरणादायी छ ।’
दुतराजको ब्यान्डको प्रस्तुति हेर्न म्याग्दीका साथै बागलुङ र पर्वतबाट समेत दर्शक बेनी आएका थिए । प्रवेश निःशुल्क गरिएको कार्यक्रममा खुलामञ्च दर्शकले भरिएको थियो । आकाशबाट परिरहेको सिमसिमे पानीमा भिज्दै पनि दर्शकहरू दुतराजको प्रस्तुतिमा रमाउँदै नाचेका थिए ।
प्रस्तुतिअघि दुतराजले आफ्नो विगतका संघर्षका दिन र सांगीतिक यात्रामा साथ दिने व्यक्तिहरूलाई सम्झिनुभयो । जन्मथलो म्याग्दीबाट सुरु भएको आफ्नो नयाँ अभियानमा आगामी दिनमा पनि दर्शक, शुभेच्छुक र संगीतप्रेमीको साथ र सहयोग रहने उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रममा म्याग्देली बालकलाकार क्रियशन रोकामगरले प्रस्तुति दिनुभएको थियो । प्रस्तुति पश्चात् उहाँलाई म्याग्दी उद्योग वाणिज्य संघका तर्फबाट सम्मानसमेत गरिएको थियो ।