तानसेन, पाल्पा । जिल्लाको पहिलो सामुदायिक क्याम्पस तानसेन बहुमुखी क्याम्पसको ३७ औँ वार्षिक दिवस तथा साधारण सभा सम्पन्न भएको छ । २०४७ असार १९ गते त्रिभुवन बहुमुखी क्याम्पसको पुरकको रुपमा स्थापना भएको क्याम्पसले एक औपचारिक कार्यक्रम गरी दिवस तथा साधारण सभा मनाएको हो ।
सभामा प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जिल्लाको शैक्षिक विकासमा तानसेन बहुमुखी क्याम्पसले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भयो । नगर प्रमुख श्रेष्ठले नगरभित्रका क्याम्पसको आवश्यकता अनुसार नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । क्याम्पस व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भेषराज नेपालले क्याम्पस व्यवस्थापनमा कुुनै पनि समस्या नरहेको तर विद्यार्थी पलायन हुुने प्रवृत्तिले क्याम्पस सञ्चालनमा समस्या सिर्जना भएको उल्लेख गर्नु भयो ।
सभामा क्याम्पस प्रमुख पुष्करराज रेग्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा क्याम्पसलाई सामुदायिक शैक्षिक अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारे । उनले क्याम्पसमा प्राविधिक तथा प्रविधिमैत्री सीपमूलक शिक्षा विस्तार गर्ने बताउनु भयो । उहाँले आर्थिक वर्ष २०८२/०८३ को ८१ लाख ९५ हजार ५१४ रुपैयाँ बराबरको आम्दानी–खर्च विवरण समेत प्रस्तुत गर्नु भएको थियो ।
सभामा पब्लिक प्राध्यापक संघ पाल्पाका सभापति मुरारी काफ्ले, माण्डव्य बहुमुखी क्याम्पसका प्रमुख रुद्र बस्याल, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि दामोदर घिमिरे, क्याम्पसका संस्थापक तथा पूर्व क्याम्पस प्रमुख रामेश्वर बजिमय, पूर्व क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समिरमान सिंह, उपप्राध्यापक रामप्रसाद ढकाल, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी, विद्यार्थी अनुसा सारु लगायतले सामुदायिक क्याम्पसमा घट्दै गएको विद्यार्थी संख्या, शैक्षिक गुणस्तर सुधार तथा क्याम्पसको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
क्याम्पसले सोही अवसरमा क्याम्पसको विकास तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेको छ । पुनराम घिमिरेद्वारा स्थापित ‘पेरी प्राध्यापक सम्मान’ पुरस्कारबाट सहायक क्याम्पस प्रमुख अरुण ज्ञवाली सम्मानित हुनु भयो । त्यस्तै क्याम्पसको संस्थागत विकासमा योगदान पुर्याएको भन्दै क्याम्पसका संस्थापक तथा पूर्व क्याम्पस प्रमुख रामेश्वर बजिमय र पूर्व क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भेषराज नेपालको अध्यक्षता, प्राध्यापक संघका अध्यक्ष श्रीधरकुमार उपाध्यायको स्वागत, सहकायक क्याम्पस प्रमुख अरुण ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।