माथागढी, पाल्पा । माथागढी गाउँपालिकाका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा लेखापालहरुका लागि सञ्चालित लेखापालन तथा सार्वजनिक खरिद तालिम सम्पन्न भएको छ ।
यही पौष २० र २१ गते सञ्चालन भएको तालिमको दमकडा माध्यमिक विद्यालयका लेखा शिक्षक ईश्वरी तिवारीले सहजिकरण गर्नु भएको थियो । तालिममा लेखापालन तथा सार्वजनिक खरिद सम्बन्धी सिद्धान्तहरु, यसका ऐननियम एवं लेखापालन तथा खरिद प्रक्रियामा विद्यालयले ध्यान दिनु पर्ने विधि पक्षहरुका विषयमा प्रशिक्षण गरिएको थियो । यस्तै लेखापालन तथा सार्वजनिक खरिदको आवश्यकता र महत्वको बारेमा समेत जानकारी गराईएको थियो ।

तालिमको उद्देश्य माथि प्रकाश पार्दै शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका शाखा अधिकृत वसन्तराज भट्टले लेखांकन प्रणालीलाई प्रविधीमैत्री बनाउने र विद्यालयको आर्थिक शुशासन कायम गर्दै जवाफदेहिता कायम गर्न यस प्रकारको तालिम सञ्चालन गरिएको बताउनु भयो ।
उक्त तालिमको उद्घाटन कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले योजना बनाउने, खरिद नियमावलीको पालना गर्ने, जिन्सी व्यवस्थापन गर्ने र लेखा व्यवस्थापन जस्ता कार्यले विद्यालयलाई गतिशिल बनाउने बताउनुभयो । उहाँले व्यवस्थित लेखा प्रणाली नहुँदा राम्रो काम गर्दा गर्दै पनि विद्यालयको आर्थिक पारदर्शिता माथि प्रश्न उठ्ने गरेको उदाहरण प्रशस्तै भेटिने गरेको पनि बताउनुभयो । अध्यक्ष चिदीले तालिम पश्चात माथागढी गाउँपालिकामा व्यवस्थित लेखापालनको प्रभावकारिता बढ्नेमा आफु विश्वस्त रहेको समेत बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख प्रेम राज खरेलले सार्वजनिक खरिद ऐन तथा नियमावली पालना गर्दागर्दै विधि नपुग्दा अप्ठेरो पर्न सक्ने र पारदर्शिता नदेखिन सक्ने बताउनुभयो । उहाँले माथागढी गाउँपालिकाले समन्वय गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय सुन्दर प्रसाद श्रेष्ठले विद्यालय लेखापालन र सार्वजनिक खरिद नियमसंगत नहुँदा बेरुजु बढ्ने समस्या आउने हुँदा लेखापालहरुलाई चुस्त दुरुस्त राख्न तालिमले सघाउने बताउनुभयो । उहाँले धेरैजसो विद्यालयहरुको श्रेष्ता व्यवस्थितच नभएको गुनासो अडिटका बेला बढ्ने गरेको भन्दै विद्यालयको आर्थिक शुसासन कायम राख्न तालिम प्रभावकारी हुने बताउनुभयो ।