कोलडाँडा, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल सत्यवती मन्दिरमा यस वर्ष पनि महाजोक परेको छ ।  सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार, कार्तिक महिनाभित्रै पूर्णिमा परेको वर्षलाई ‘महाजोक’ मानिन्छ, र यस्तो वर्षमा वर माग्दा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । यही जनविश्वासका कारण देश–विदेशबाट हजारौं तीर्थयात्री चिच्याएर वर माग्न मन्दिरमा पुग्ने गर्छन् ।

यो वर्ष कार्तिक १९ गते परेको पूर्णिमाको अवसर पारी लाग्ने मेलाका लागि सुरक्षा व्यवस्था, भक्तजनहरुलाई पूजाका लागि सहजिकरण, यातायात लगायतका विषयमा तयारी अन्तिम तरणमा पुगेको मन्दिर बिकास समितिले जानकारी दिएको छ ।

मेलाको तयारी बारे जानकारी गराउन मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष दानबहादुर गाहाले यो वर्ष पनि महाजोग परेको हुँदा भक्तजनको भिड अत्याधिक हुने भएकाले सोही अनुसार व्यवस्थापनमा जुटेको दाबी गर्नु भयो । गत वर्ष २ लाख भक्तजनले दर्शन गरेको सत्यवती मन्दिरमा यो वर्ष दर्शन गरेको संख्या थप बढ्ने अनुमान गरिएको पनि बताउनु भयो । कार्तिक महिनाभित्रै शुक्ल पूर्णिमा परेको वर्षलाई महाजोक मानिने र वर माग्दा उत्तम वर्ष मानिने जनविश्वास रहँदै आएको सत्यवती मन्दीर व्यवस्थापन समितिका गाहाले बाउनु भयो ।

परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किबदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमाको मेलामा हजारौँ भक्तजन बर माग्न सहभागी हुने गर्दछन् । परम्पराअनुसार पूर्णिमाको अघिल्लो दिननै भक्तजनहरु मन्दिरमा पुगेर मध्येराती सत्यवती तालको परिक्रमा गरी पूजापाठ गर्ने प्रचलन रहे पनि तिहारपछिको एकादशी सकिएलगत्तै दर्शनार्थीको भिड सुरु हुने गर्दछ ।

बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घर फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ । यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् ।

मेलालाई व्यवस्थित गर्नका लागि जिल्पा प्रशासन कार्यालय, तिनाउ गाउँपालिका तथा सुरक्षा निकायहरुसँग समन्वय गरिएको समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनु भयो । मेलाका सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी गरी ६० जना बढी परिचालन गरिने तथा स्थानीय युवा समूहबाट ६० जना बढी स्वयम्सेवक परिचालन गरिने अध्यक्ष गाहाले जानकारी गराउनु भयो ।

यसैगरी गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सत्यवती ताल तथा मन्दी व्यवस्थापनका लागि मेला अवधिमा मात्र नभई अन्य समयमा समेत यसको बिकासका लागि योजनावद्ध काम भइरहेको जानकारी दिनु भयो। विगतमा मन्दिरमा संकलित दान दक्षिणाबाट संकलित रकमहरु अपार्दशी हुने गरे पनि आफू आएपछि यसलाई व्यवस्थित र पादर्शी गर्दै उक्त रकम मन्दिरको बिकासमै खर्च गर्ने गरिएको जानकारी दिनु भयो ।

मन्दिरमा गतवर्षको मेलाबाट ३२ लाख बढी भेटी संकलन भएको थियो भने यो वर्ष पनि सोही अनुपातमा भेटी संकलन हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो । यसरी संकलित भेटी मन्दिर बिकास समितिलेनै व्यवस्थापनमा खर्च गर्दै आएको छ । मन्दिरको बिकासका लागि गाउँपालिकाले गुरुयोजना तयारी पारी ६० लाख बढी लागतमा मन्दिर स्थापना गर्न लागेको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । यसैगरी गाउँपालिकाको पहलमा संघीय सरकारबाट बजेट विनियोजन गरी मन्दिरसम्म पुग्ने सडक स्तरोन्नतीको काम भइरहेको जानकारी दिनु भयो ।