काठमाडौं । बेलायतको ननिटन बेडवर्थ बरोको मेयर भूतपूर्व गोर्खा क्याप्टेन भीम सारूमगर सिंहदरवारमा सम्मानित हुनु भएको छ ।
नेपाल भ्रमणमा रहेका मगरलाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सम्मान गर्नु भएको हो । सम्मान गर्दै उपसभामुख रानाले बेलायतीको मन जित्दै मेयरजस्तो पदमा पुगेकोमा मगरलाई बधाई ज्ञापन गर्नु भयो ।
नेपालीको लागि यो एउटा गौरवको विषय भएको उल्लेख गर्दै उहाँले बरोमा रहेका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको सेवा प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरेको बताउनु भयो । उपसभामुखले सम्मान गर्दा प्रतिनिधि सभाका सचिव हर्कराज राई, सहसचिव एवं संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव ओमबहादुर कार्की लगायतका अधिकारीहरू उपस्थिति भएका थिए ।
पाल्पाको चिदिपानी चन्द्रवन (हाल) माथागढी गाउँपालिका–१ मा जन्मिनु भएका सारुमगरले सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गर्नु भएको थियो । त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती हुनु भएको थियो । झन्डै तीन दशक ब्रिटिस सेनामा सेवा गर्नु भएका सारुमगर हाल ब्रिटिस गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्ष समेत हुनुहुन्छ ।
उहाँ रोयल इन्जिनियर्सको ग्यारिजन इन्जिनियरको रूपमा सेवा निवृत हुनु भएको थियो । बेलायतमा सन् २०१७ देखि ‘इम्ब्रोइडरी’ व्यवसाय चलाइरहनु भएका सारुमगर सफल व्यवसायी एवं समाजसेवीको रूपमा परिचित हुनुहुन्छ ।