देवदह, रुपन्देही । लायन्स क्लब अफ सिद्धार्थनगर युथले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ ।

क्लबले आफ्नो नवौँ स्थापना दिवस तथा बडादसैँका अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमका बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको हो । क्लबका अध्यक्ष युवराज श्रेष्ठले बालबालिकालाई टीका लगाएर दक्षिणासमेत प्रदान गरिएको बताउनु भयो। त्यस्तै आश्रममा रहेका बालबालिकालाई बिहानको एक छाक खाना पनि खुवाइएको थियो ।

यस पटकको स्थापना दिवस फरक ढङ्गले मनाउने प्रयास अनुसार आश्रममा कार्यक्रम गरिएको क्लबका तृतीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक सचिन्द्र तुलाधरले बताउनु भयो । बडादसैँमा नयाँ कपडा नलगाएसम्म बालबालिकामा दसैँ आएको अनुभूति पनि नहुने भएकाले अभिभावकविहीन बालबालिकालाई आफ्ना अभिभावक नभएको अनुभूति नहोस् भन्नका लागि उनीहरुलाई नयाँ लत्ताकपडा वितरण गरिएको समेत बताउनु भयो ।

कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले दसैँ आफ्नो परिवारमा बसेर रमाउने मात्र नभई अरूको जीवनमा पनि खुसी ल्याउन सकियोस् भन्ने उद्देश्यले क्लबले गरेको कार्यक्रम प्रशंसनीय रहेको बताउनु भयो। त्यस्तै निवर्तमान डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स क्लब अफ सिद्धार्थनगर युथले सामाजिक कार्यलाई बहन गर्दै आएको बताउनु भयो । सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीले आफ्नो खर्च कटाएर क्लबका सदस्यले सेवाको हात अगाडि बढाउनु प्रशंसनीय रहेको बताउनु भयो ।

लायन्स क्लब अफ सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष अर्चित श्रेष्ठले यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा खुसीको अनुभूति भएको बताउनु भयो । कार्यक्रममा क्लबका संस्थापक सदस्यलाई सम्मान गरिएको सचिव विराट गुरुङले बताउनु भयो । नेपाल अविनाश अनाथ आश्रममा हाल २२ जना बालबालिका रहेको अध्यक्ष कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनु भयो ।