घोराही, दाङ । घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उहाँले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आउनु भएको छ ।
बेसिजन अर्थात् बेमौसमी याममा पनि उनले फूल, माला बिक्री गर्दै आएको बताउनु भयो । चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा गरिएको फूलखेतीबाट उहाँ सन्तुष्ट हुनुहुन्छ । आम्दानीको पाटो पनि राम्रो भएको छ फूलखेतीबाट । फूलखेती गर्नुभन्दा अघि उहाँ वैदेशिक रोजगारमा हुनुहुन्थ्यो । “विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँं”, उहाँले भन्नु भयो, “बाहिरी देशमा कमाएको भन्दा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ ।”
रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताउनु भएका रोकामगरले जिल्लामा दसैँ, तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थाल्नु भएको हो । अहिले उहाँले फूललाई प्रतिकेजी चार सय रुपैयाँका दरले र माला एक थानलाई एक सय रुपैयाँमा बिक्री गर्दै आउनु भएको छ । उमेरले ४० वर्ष पुग्नु भएका किसान मगरले विगत १३ वर्षदेखि फूलखेती गर्दै आउनु भएको छ । यस वर्ष पनि तीन बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बताउनु भयो । जलजला पुष्प फार्मबाट व्यावसायिक रूपमा फूलखेती गर्दै आउनु भएका मगरले स्थानीय केही नागरिकलाई रोजगारीसमेत दिनु भएको छ ।
अहिले जिल्लासहित चितवन, बुटवलमा पनि फूल, माला पठाउँदै आएको बताउनु भयो । उहाँले वार्षिक रूपमा ३५ लाख रुपैयाँ बढीको फूल, माला बिक्रीको कारोबार गर्नुहुन्छ । यसबाट १०–१५ लाख वार्षिक रूपमा बचत हुने उहाँको भनाइ छ । असोज महिनामा विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगाएत कार्यमा फूलमाला बिक्री भइरहेको उहाँ बताउनु हुन्छ । उहाँले बिहेको माला पनि तयार पारेर बिक्री गर्दै आउनु भएको छ । उक्त माला एक हजारमा बिक्री गर्ने गर्नु भएको छ ।
किसान मगरले माला बनाउनका लागि बिजुलीको फूल पनि उत्पादन गर्नु भएको छ । विभिन्न प्रजातिका फूलका बिरुवा पनि उत्पादन गरेर बिक्री गर्दै आउनु भएको छ । व्यावसायिक रूपमा फूलखेती गरेका र अन्य घर वरपर सजाउनका लागि पनि फार्ममै आएर नागरिकले लैजाने गरेको उहाँले बताउनु भयो । अब तिहार पनि आउँदै गरेकाले सरकारीस्तरबाट प्लाष्टिकका मालालाई प्रतिबन्ध लगाएमा फूलखेती गरेका किसानलाई राहत हुने उहाँ बताउनु भयो । पछिल्लो समय आमनागरिकले पनि स्थानीयस्तरमा उत्पादित सयपत्रीको माला नै प्रयोग गर्ने प्रचलन बढ्दै गएकोप्रति उहाँ खुसी हुनुहुन्छ । यस व्यवसायमा उहाँलाई परिवारको पनि राम्रो साथ र सहयोग मिलेको छ ।
जिल्लामा व्यावसायिक रूपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेपछि यसको मूल्य पनि पहिलेको तुलनामा घट्दै गएको छ । तर आमनागरिकले कम मूल्यमा पनि स्थानीयस्तरमै उत्पादित ताजा फूलमाला प्रयोग गर्न पाएकोप्रति किसान मगर खुसी व्यक्त गर्नुहुन्छ । रासस