पाल्पा । लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गर्नुभयो ।

लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा पूर्णखोप सुनिश्चित तथा दिगोपना कायम भएपछि राष्ट्रिय खोप समन्वय समितिले भेरिफिकेसन गरी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने अनुमति दिएको थियो ।

राष्ट्रिय खोप समन्वय समिति सचिवालयका अध्यक्ष विकास देवकोटाले लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठलाई पूर्णखोप सुनिश्चितता प्राप्त प्रदेश भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री आचार्य, स्वास्थ्यमन्त्री सारुलगायत सभागीहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कुनै पनि बालबालिका खोप सेवा लिनबाट बञ्चित हुन नपरोस् भन्नेगरी अभियान केन्द्रीत गरिनु पर्ने बताउनु भयो ।

प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिसकेका उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ सवैपक्ष निरन्तर लाग्नु पर्नेमा जोड दिनु भयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले २०७९ भाद्र ३१ गते नेपालकै दोस्रो पुर्णखोप प्रदेश पहिलो पटक घोषणा भएको र त्यसपश्चात निरन्तर प्रत्येक वर्ष सुनिश्चित्ता तथा दिगोपना गर्दैआएको बताउनुभयो । मन्त्री सारुले मातृ मृत्यूदर, शिशु मृत्यूदर र पोषणलाई स्वास्थ्य मन्त्रालयले विशेष प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गर्दै स्वास्थ्यका नकारात्मक सुचकहरुलाई न्यूनीकरण गर्ने विषयमा लुम्बिनी प्रदेशले प्रगति गरिरहेको बताउनु भयो ।

कार्यक्रममा परिवार कल्याण महाशाखा निर्देशक डा. विवेककुमार लाल, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमलगायतले मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा अभियानलाई सघाउने पाँच जना स्वास्थ्यकर्मी अ‍ोमप्रकाश पन्थी, दिपाकरकुमार महर्जन, जनकराज गिरी, चिन्तामणी ज्ञवाली र हरिप्रसाद आचार्यलाई सम्मान गरिएको थियो ।

पूर्णखोप अभियान अन्तर्गत २०८२ जेठ ८ मा नवलपरासी पश्चिमबाट दिगोपना घोषणा सुरु भएको थियो । त्यसपछि क्रमशः रोल्पा, पाल्पा, कपिलवस्तु, बाँके, रूपन्देही, प्युठान, रुकुमपूर्व, दाङ, गुल्मी, बर्दिया र २०८२ असार २७ मा अर्घाखाँचीमा घोषणा गरिएको थियो ।