दलबहादुर गुरुङ
 दाङकाे लमहीबाट फर्किदै थिएँ ,साथी दीपक ढकालकाे फाेन आयाे । भाेलि हाम्राे चैतन्य एकेडेमी,बुटवल शाखामा उत्प्रेरणामूलक सेसन लिन आउनुपर्याे । केही नसाेचि-हुन्छ भन्दिएँ ।
यात्राले हाेला शरीर थाकेकाे थियाे । विहिवार विहान वाक जान सकिनँ । ढिला उठेपनि खाना पकाई-खुवाई गरी छाेरालाई कलेज र मेडमलाई अस्पताल पठाएँ ।
विहान ११ वजेतिर खाना खाईवरि ल्यापटपमा पिङ् खेलें । करिव तीन घण्टाकाे समयमा २५ वटा प्रिजेन्टेसन स्लाइड बनाएँ । चित्रकाे सहारा धेरैं लिएँ । विषय थियाे-अद्वितीय क्षमता विकास गर्दै प्रेरणादायी यात्रा । दीपक सरबाट प्राप्त शीर्षकमा लामाे समय घाेरिएर साेच्नु परेकाे थियाे ।
चैतन्य एकेडेमी,बुटवलमा लाेकसेवा, शिक्षा सेवा आयाेग र बैङ्किङ्ग सेवाका तयारी कक्षाहरु चल्दा रहेछन् । सहभागी विद्यार्थीलाई सहजीकरण गर्ने अवसर चैतन्यका बुटवल सञ्चालक एवम् व्यवस्थापक दीपक सरले दिएका थिए । उनी बुटवल क्षेत्रमा शैक्षिक अभियन्ताका रुपमा परिचित छन् ।
हजाराैंका संख्यामा वैदेशिक राेजगार र शिक्षाका लागि विदेशिनेहरुका बीचमा स्वदेशमै पढी,स्वदेशमै जागिर गरेर सेवा गर्ने रहर बाेकेका युवाहरुका अनुहार हेर्दा पनि मनमा उत्साह थपियाे,जाँगर भरियाे । लाेकसेवा,शिक्षा सेवामा उत्तीर्ण गरेर देशमै राेजगारी हुन्छु,देशकै सेवा गर्छुभन्ने मनसाय बाेकेका देशभक्त युवाहरुलाई सहजीकरण गर्दा गर्वले छाती सगरमाथा भयाे । भावनाले मन उद्वेलित भयाे । “नेपाल आमालाई माया गराैं । नेपाली हुनुमा गर्व गराैं ” भन्ने सन्देशमूलक नाराले मस्तिष्कलाई सीधै प्रवाहित गरायाे ।
ओेठ निचाेर्दा दूध आउने खालका युवाहरु घरपरिवार,देश छाडेर जाँदा जनसंख्यामात्र हाेईन घट्ने,अर्थतन्त्रमा समेत प्रतिकूलता देखिन थालेकाे पाईन्छ । यसले भाेलि देशकाे अवस्था के हाेला ? तर,चैतन्यले सबै पढेलेखेका युवाहरुलाई देशप्रति सजग गराएकाे छ । आफ्नै भूमिमा पढ्न र केही गर्न सन्देश बाँडेकाे छ ।
 “देशमा केही सम्भव छैन,देश खत्तम भयाे” भन्ने गलत भाष्य निर्माण भईरहेकाे वर्तमान परिवेशमा युवाहरुलाई आफ्नै देशकाे सेवामा समर्पित हुनका निम्ति अड्याउन गरेकाे चैतन्यजस्तै एकेडेमीकाे भूमिकालाई नजरअन्दाज गर्नु हुँदैन ।
देशकाे सेवा गर्नु हरेक नागरिककाे कर्तव्य हाे। सुखमा हाँसेर अनि दु:खमा बाँचेर आफ्नाे भूमिलाई स्नेह,ममता गर्नु सबै नेपालीकाे दायित्व हाे ।
गतवर्ष एसएलसी पास भएका दुई लाख ३५ हजार विद्यार्थीमध्ये एक लाख २३ हजार विद्यार्थीले एनओसी सिफारिस लिएका थिए । याे तथ्यांकले निकाे र सकारात्मक सन्देश पक्कै दिएकाे छैन । नेपालमै गुणस्तरीय शिक्षा प्राप्त हुन सक्छ,पढ्दै कमाउँदैमार्फत् स्वदेशमै पढ्न सकिन्छ र घरपरिवारसँगै आँटाेपीठाे खाएर पनि शिक्षा लिन सकिन्छ भन्ने चेतना फैलाउनु पनि चैतन्य एकेडेमीजस्ताकाे खाँचाे छ ।
 किन युवाहरु स्वदेशमा टिक्न सकेका छैनन् ? वैदेशिक राेजगार र शिक्षा लिन जानेकाे संख्या किन कम गर्न सकिएकाे छैन ? तीनै तहका सरकारहरुकाे दायित्व र भूमिका केकस्ता छन् ? यसका बारेमा गहिराे खाेज,अध्ययन र अनुसन्धान किन हुन सकिरहेकाे छैन ? त्यसैले नयाँ पुस्तालाई देशभक्तिपूर्ण भाव विकास गर्नुपर्नेछ । राज्यले दिने सेवा,सुविधाकाे प्रचुर सदुपयोग गर्नुपर्ने अवस्था पनि छ ।
करिव दुईघण्टा शिक्षित युवाहरुसँग अन्तरक्रियात्मक छलफलमा भाग लिईरहँदा उनीहरुका विचार,भावना बुझ्ने अवसर मिल्याे । पढाइ अनुसारका राेजगार आफूहरुले पाउनु पर्ने तर त्यसका लागि अवसरकाे खाँचाे रहेकाे बताए । देशलाई चिन्नुपर्नेमा सबैकाे जाेड रह्याे  ।
अद्वितीय क्षमता के हाे ? क्षमता विकास कसरी सम्भव छ ? क्षमता अभिवृद्धिका आधार र अभ्यास के हुन् सक्छन् ? सफलताका साेपान के हुन् ? साेही विषयमा सहजीकरण गरिरहँदा निधारमा टीका,गलामा माला,खादा लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शैक्षिक उन्नतिका लागि  उडेपनि बाँकी रहेका युवाहरुलाई यस्तै तयारी कक्षामा देख्दा खुसीले धूरी चढ्छन् । उत्साह,उमङ्गमा परिणत हुन्छन् ।
सेसन लिईरहँदा नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेल र दीपक सर मसँगै थिए । विद्यार्थीका अनुहार पढिरहेकाे थिएँ । भाव सकारात्मक भेटें । अन्तिमतिर सहभागी तीनजनाले सिकाईका अनुभवहरु बाँडे । अर्जुनले युवा विद्यार्थीलाई हाैशला दिए ।
मायाकाे चिनाे लिएँ,दीपक सरमार्फत् ।एउटा कविता सुनाएर कार्यक्रमबाट छुट्टि लिएँ । युवा विद्यार्थीले जाेडदार ताली बजाए । मेराे नाक टिप्न बिर्सिएकाे घिरम्लाजत्राे भयाे । अर्जुनकाे भटभटे चढेर घरमा आउँदा साँझकाे पाैने आठ बज्दैथियाे ।