एवत सारु
रम्भा, पाल्पा । रम्भा गाउँपालिका पाल्पाले सबै वडाबाट प्रदान गर्ने सेवालाई बिहान ७ बजे देखि बेलुकी ५ बजेसम्म सञ्चालनमा ल्याएकोछ ।

सामजिक सुरक्षा कार्यक्रममा आबद्ध लाभग्राहीहरुको नविकरण प्रक्रियालाई सहज बनाउन पालिकाका सबै ५ वटै वडामा अतिरिक्त समय सेवा दिइएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो । सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध नागरिकहरुको अद्यावधिक कार्य गर्दा सर्भरमा आएको समस्यालाई मध्यनजर गरेर बिहानी समयमा सेवा दिइएको उहाँले बताउनु भयो ।

जसोतसो वडामा आइपुुगेका सेवाग्राहीलाई कम्प्युटरमा फिङ्गर प्रिन्ट गर्दा सर्भरले काम नगर्ने र सर्भर नै नखुल्ने हैरानी बेहोर्नु परेको रम्भा गाउँपालिका २ नं. वडाका वडा सचिव धनकुमारी सारुले बताउनु भयो । दुख कष्ट गरेर आईपुुग्ने सेवाग्राहीलाइ सर्भरमा आएको समस्याको कारण छिटो सेवा दिन नसक्दा कतिपय सेवाग्राही झर्कने गरेको पाईन्छ ।

बिहानी सेवा आरम्भ भएपछि सर्भरले केही हदसम्म काम गरेको र धेरै सेवाग्राही लाभान्वित भएको २ नं. वडाध्यक्ष चेतबहादुर सुनारीले बताउनु भयो । रम्भा गाउँपालिकामा गत आर्थिक वर्षमा ३ हजार ९३ जनालाई ११ करोड ७८ लाख ५१ हजार ९३७ रुपिया सामाजिक सूरक्षा भत्ता वितरण गरिएको र सबै वडामा सेवाग्राहीको नाम अद्यावधिक गर्न बिहानी सेवा दिने गरिएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनु भयो ।

सरकारले यो वर्ष देखि सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्न बायोमेट्रिक प्रणाली लागु गरेपछि सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । औंलाका छाप कम्प्युुटरमा इन्ट्रि गर्न सेवाग्राही कार्यालयमै आउनुपर्ने बाध्यकारी नियम लागूूगरेपछि बृद्ध र असक्तहरुले अत्यन्तै दुख भोग्नु परेको छ । अहिलेको समयमा पनि वडा कार्यालयमा दिनहुु घण्टौ पिठ्युुँमा बोकेर आफ्ना बाजे बजैलाई वडामा ल्याएको देख्दा जो कसैको मन दुुख्ने गरेको स्थानीय हेमबहादुर सारुले बताउनुभयो । ग्रामिण सडक वर्षातले बन्द हुुँदा झन सास्ती थपिएको छ ।