तानसेन, पाल्पा । पाल्पा जिल्लाका सात राजनीतिक दलहरूले मुलुकमा व्याप्त चरम भ्रष्टाचार, कुशासन, अनियमितता, महँगी र दण्डहीनताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय, पाल्पा मार्फत नेपाल सरकारलाई दश बुँदामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्रमा मन्त्रीहरू खुलेआम घूस लिने गरेको र प्रधानमन्त्रीले त्यसको प्रत्यक्ष संरक्षण गरेको जस्तो गम्भीर आरोप लगाइएको छ । सरकारले प्रतिपक्ष नेताहरूलाई प्रतिशोधपूर्ण तरिकाले मुद्दा चलाउने, विचारका आधारमा दमन गर्ने र आफूखुसी व्यवहार गर्ने प्रवृत्तिले मुलुकमा दण्डहीनता बढेको उल्लेख गरिएको छ । संघीय सरकारका यस्ता नकारात्मक गतिविधिहरूको प्रभाव पाल्पा जिल्लामा पनि देखिन थालेको भन्दै ध्यानाकर्षण पत्रमा चिन्ता व्यक्त गरिएको हो ।

ध्यानाकर्षण पत्र बुझाउने दलहरूले सरकारका यस्ता नकारात्मक क्रियाकलापहरू तत्काल सच्याउन र पाल्पा जिल्लामा देखिएका समस्याहरू समाधान गर्नका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

जिल्ला यातायात कार्यालय, विशेष नापी कार्यालय, डिभिजन खानेपानी कार्यालय, जिल्ला मालपोत कार्यालय लगायत सरकारी कार्यालयहरूमा घूसखोरि बढेको गुनासो आइरहेकाले ती निकायहरूबाट हुने आम जनताको गुनासोलाई सम्बोधन गर्न माग गरिएको छ । कृषि ज्ञान केन्द्रबाट सञ्चालित योजनाको बजेट भन्दा अनुगमनको बढी खर्च भएको विषयमा ध्यान आकर्षित गरिएको छ ।

जिल्ला सरकारी कार्यालयहरूमा सत्तारुढ, राजनीतिक दलहरूको हस्तक्षेपपूर्ण गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गरिएको छ । जिल्लाका कच्ची सडकहरूमा कायम भएको चर्को भाडा दर तत्काल समायोजन गर्न र जनताको आवागमनलाई सहज हुने गरी समय तालिका निर्धारण गर्नुपर्ने माग गरिएको छ । यस्तैचाडपर्वको समयमा हुने वस्तुको कृत्रिम अभाव, मूल्य वृद्धि र मिसावट नियन्त्रण गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

जिल्लाका प्रमुख सडक तथा जोखिमपूर्ण भित्री सडकहरू तत्काल मर्मत गर्न सम्बन्धित कार्यालय मार्फत पहल गर्नुपर्ने माग गरिनुका साथै बुटवल–पाल्पा सडक खण्डमा गुड्ने ओभरलोड सवारी साधन नियन्त्रण गर्न र अनावश्यक ट्राफिक चेकजाँचको नाममा ट्रिपर व्यवसायी तथा सवारी चालकलाई दुःख दिने कार्यको अन्त्य गर्न पनि भनिएको छ । ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा नवीकरणका साथै स्वास्थ्य बिमा कार्यक्रम सहजीकरण गर्नुपर्ने माग गरिएको छ ।

ध्यानाकर्षण पत्रमा नेकपा (माओवादी केन्द्र) पाल्पाका संयोजक राजेन्द्र वि.क., राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका सहसंयोजक सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुलबहादुर कुँवर, नेकपा (एकिकृत समाजवादी) पाल्पाका अध्यक्ष अशोक कुमार शाही, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, राष्ट्रिय जनमुक्ति पाल्पाका अध्यक्ष होम बहादुर थापा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले संयूक्त रुपमा हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका सहसंयोजक सुमन गैरेले बताउनु भयो ।