बुटवल । स्व. नेता जीवराज आश्रितको ८२ औं जन्मजयन्तीको अवसरमा बुटवलमा रहेका माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । जीवराज आश्रित स्मृति प्रतिष्ठान बुटवलले आयोजना गरेको प्रतियोगितामा १७ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनीहरुले जीवराजको फोटोसँग आकर्षक चित्रकला कोरेका थिए ।
प्रतियोगितामा कालिका मानवज्ञान मावि, बुटवलको कक्षा ११ मा फाईन आर्टस् पढ्दै गरेका भिमल रानाले प्रथम भएर सात हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भयो । यस्तै पामिर एकेडेमीका राजन थापाले द्वितीय भएर पाँच हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र, दीप बोर्डिङकी पृष्टि पुनले तृतीय भएर तीन हजार र प्रमाणपत्र तथा होराईजनकी दीपा थापाले सान्त्वना भएर दुई हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्न सफल भए । सहभागी विद्यार्थी कलाकारहरुलाई प्रमाणपत्र र नगद एक हजारका दरले रकम प्रदान गरिएको थियो ।

चित्रकला प्रतियोगितामा विजयी विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिधि माननीय नेत्र पन्थी, संस्थापक अध्यक्ष देवेन्द्र घिमिरे, जीवराजकी जीवनसंगीनी माया ज्ञवाली, अध्यक्ष युवराज घिमिरे, प्रथम उपाध्यक्ष लगायतले प्रमाणपत्र, ट्रफी र नगद वितरण गर्नु भएको थियो । प्रतिष्ठानले जीवराजको स्मृति दिवस र जन्मजयन्तीका अवसरमा उनीसँग सन्दर्भित विचार विमर्श कार्यक्रम, कविता, निबन्ध र गीत प्रतियोगिता समेत आयोजना गरिसकेको छ।
प्रतियोगिताको निर्णायकमा नेपाल व्यवसायिक कलाकार संघका कलाकारहरु एचबी रम्तेल, बेनु थापा र दीलिप रसाईली रहनु भएको थियो । निर्णायक संयोजक बेनु थापाले कलाकारको कला कहिल्यै नमर्ने र जीवन्त रहने बताउँदै बुटवलको कालिका मानवज्ञान माविमा यसै शैक्षिक सत्रदेखि फाईन आर्ट्स पढाईको सुरुवात् भएको जानकारी दिनु भयो।

जीवराजलाई विद्यार्थीबीच चिनाउनका लागि चित्रकला प्रतियोगिता आयोजना गरिएको अध्यक्ष युवराज घिमिरेले बताउनु भयो । प्रथम उपाध्यक्ष कल्पना थापाले बहुआयामिक जीवराजलाई चिनाउन र बुझाउन विद्यार्थी र युवालगायत सबैसँग प्रतिष्ठान पुग्ने अभियानमा रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्रीका शिक्षा विज्ञ डीबी गुरुङ, जीवराजका सुपुत्र डा. सागर, जीवनसंगीनी माया ज्ञवाली, संस्थापक अध्यक्ष देवेन्द्र घिमिरे, प्रमुख अतिथि माननीय नेत्र पन्थीलगायतले जीवराजको व्यक्तित्व र कृतित्व रक्षाका लागि सबैले आ-आफ्ना क्षेत्रमा क्रियाशील हुनुपर्नेमा जोड दिनु भयो । अनुशासनमा कडा, व्यवहारमा नरम भएका जीवराजका समकक्षी देवेन्द्र घिमिरेले जीवराजलाई सबैकाबीच पुराउन सबैले पहल गर्नुपर्ने औंल्याउदै जीवराजका जीवनगाथा सबैले पढ्नु र बुझ्नु पर्नेमा जोड दिनु भयो ।
विद्यार्थीद्वारा तयार पारिएका उत्कृष्ट फोटो प्रतिष्ठानमै फ्रेममा प्रेमपूर्वक सजाईने प्रतिष्ठानकी महासचिव विष्णु केसीले बताउनु भयो । विद्यार्थीले जीवराजको चित्र कोरिरहँदा आगन्तुक धेरैका आँखा रसाका थिए। एकपटक चित्रमा सबैले जीवराजको ईतिहास खोजिरहेका थिए भने सबैमा उहाँको अभाव खड्किरहेको देखिन्थ्यो ।