एवत सारु
फोक्सिङकोट, पाल्पा । रानीबास सामुदायिक होमस्टे फोक्सिङकोट पाल्पामा आन्तरिक पर्यटकहरुको घुईचो लागेको छ । होमस्टे सञ्चालनको छोटो समयमा नै पर्यटकहरुको लर्को लाग्न थालेपछि स्थानीयहरु दङ्ग परेका छन् । झण्डै ५ महिना अगाडि औपचारिक रुपमा उद्घाटन गरी रानीबास सामुदायिक होमस्टे सञ्चालनमा आएको हो ।

स्थानीय कोदोको रोटी र ढिंडो, भट्टमास, मकैको रोटी, लोकल कुखुराको मासु सहितको लोकल खाना, झाम्रे, सालै जो, मारुनी नाच लगायतको स्थानीय संस्कृति, अतिथि देव भव मान्यतालाई शिरोधार्य गरिएको आत्मीय सम्मान र आदर तथा प्राकृतिक सौन्दर्यताले पर्यटकहरुलाई तान्ने गरेको होमस्टेकर्मी भोवीसरा सारुले बताउनु भयो ।

प्राकृतिक सौन्दर्य र यहाँको हावापानीले सबैको मन जितेको छ । साउन मासमा समेत पर्यटकहरु आउन थालेपछि स्थानीयको दैनिकी फेरिएको छ । उनीहरु पाहुना स्वागत र सत्कार, कोठा व्यवस्थापन र सरसफाई, फुलमाला उन्ने र सिंगार गर्ने काममा व्यस्त भएको पाइन्छ । गत ५ महिनामा यस सामुदायिक होमस्टेमा ८०९ जना पर्यटकहरुले भ्रमण गरेको अभिलेख पुस्तिकामा उल्लेख छ । विभिन्न ५७ वटा समूहका मानिस ४३ दिन सम्म होमस्टेमा आएको अभिलेखमा छ ।

जिल्लाको तानसेन नगरपालिका, रामपुर नगरपालिका, माथागढी, निस्दी, रिब्दीकोट, पूर्वखोला, बगनासकाली, रैनादेवी छहरा गाउँपाकिलाबाट मानिसहरु भ्रमणको लागि आएको देखिन्छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका क्षेत्र, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, कञ्चन गाउँपालिका, स्याङ्गजाको गल्याङ्ग नगरपालिका, वालिङ्ग नगरपालिका, तनहूको बन्दीपुर क्षेत्र, सुर्खेतको गुर्भाकोट नगरपालिका, बाग्लुङ्गको बरेङ्ग क्षेत्रका पर्यटकहरुका साथै काठमाण्डौका पर्यटकले रानीबास होमस्टेमा घुम्न आएको अभिलेख छ ।

एकैदिन ४ समूहका ६८ जनाको आगमन भई रमाईलोका साथ स्वागत गरिएको होमस्टेका सचिव बिरबहादुर गुरुङ्गले बताउनु भयो । रानीबास होमस्टेमा बेलुकीको खाजा, मासु सहितका खाना, सुताई र बिहानको खाजाको लागि एक हजार रुपियाको प्याकेज तयार पारिएको छ । १५ जना भन्दा बढीको समूहलाई पन्चेबाजा र झाम्रे गीतबाट स्वागत गरिने र अर्डर अनुसार थप मासुको व्यवस्था गरिने गरिएको रानीबास सामुदायिक होमस्टेका अध्यक्ष देउकुमारी सारुले बताउनु भयो ।

विभिन्न नीजि तथा सामुदायिक विद्यालयका शिक्षक, सहकारी संस्थाका पदाधिकारी र सदस्यहरु, निर्माण व्यवसायीहरु, सुनचादी व्यवसायीहरु, इन्जीनियरहरु, सामसुङ्ग मोबाइलका डिलरहरु, जीवन बिमा कम्पनीका अभिकर्ताहरु, शैक्षिक क्षेत्रमा कामगर्ने संस्थाहरु, कलाकार, विद्यार्थी समूह, स्थानीय तहका पदाधिकारीहरुले अध्ययन अवलोकन र मनोरञ्जनको लागि रानीबास होमस्टे छनोट गरेको पाईन्छ । उत्तर फर्केको रानीबास गाउँ समुद्र सतह देखि करिब १ हजार ३०० मिटर उचाईमा रहेको छ ।

उखरमाउलो गर्मीबाट छल्नको लागि पनि मानिसहरु रानीबास आउने गरेकाछन । सिद्धार्थ राजमार्गको राम्दी पुलबाट करिब १० किलो मिटर टाढा रहेको यस गाउँआईपुग्न ७ किलोमिटर कच्चीबाटो हिन्नुपर्ने हुन्छ । ९२ घर मगर हरुको बस्ती रहेको रानीबास गाउँबाट उत्तर तर्फको अन्नपूर्ण हिमश्रृखला, घुमी घुमी कालीगण्डकी बगेको, सिद्धार्थ राजमार्ग, रिमीघा लेक जस्ता प्राकृतिक सौन्दर्यता हेर्न सकिन्छ । रम्भा गाउँपालिकाको विशेष पहल र सहयोगमा होमस्टे सञ्चालन भएको र स्थानीयको आयआर्जनमा समेत टेवा पुगेको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो । सहदीखोला देखि रानीबास सम्मको मोटरबाटो स्तरउन्नति गर्न गाउँपालिकाले पहले गरेको उहाँले बताउनु भयो ।