भुवन सिंजाली
पूर्वखोला, पाल्पा । आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक पारित गरेसंगै पूर्वखोला गाउँपालिका पाल्पाले खरको छानो घर भएकाहरुलाई घर करमा पुर्ण छुट दिने निर्णय गरेको छ।
गाउँपालिकाको १७ औं अधिवेशनको तेस्रो बैठकले उक्त निर्णय गरेको हो । रिङ्नेरहमा सम्पन्न अधिबेशनमा आर्थिक विकास समितिका संयोजक नीर बहादुर सारुले आर्थिक प्रतिबेदन रसामाजिक विकास समिति संयोजक विष्णु बहादुर पल्लीले सामाजिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

यस्तै सुशासन तथा संस्थागत विकास समितिका संयोजक कृष्ण प्रसाद भट्टराई , न्यायिक तथा अनुगमन समितिका संयोजक भागिरथी शर्मा भट्टराई र सार्वजनिक लेखा समितिका संयोजक याम बहादुर सारुले पनि आ आफ्नो समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सभामा विधेयक समितिका संयोजक मेहर सिं थापाले पुर्वखोला गाउँपालिकाको आर्थिक तथा वित्तीय उत्तरदायित्व ऐन र बाल संरक्षण निति प्रस्तुत गर्नु भएको थियो । सभाले असार १० गते गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले पेश गर्नु भएको आर्थिक विधेयकलाई केही परिमार्जन सहित पारित गरेको छ ।

पारित भएको उक्त आर्थिक विधेकमा सुर्तीजन्य पदार्थ व्यवसाय दर्ता नविकरणलाई १० हजार शुल्क लिने तथा खरको छाना भएको घरलाई घर करमा पुर्ण छुट दिने विषय उल्लेख छ । यस्तै पालिकाले उठाउने विभिन्न प्रकारका करहरु तथा शुल्कहरुमा पनि परिमार्जन सहित गत वर्षको विधेयक अनुसार संचालन गर्ने गरि आर्थिक विधेयक पारित गरेको छ ।

सभामा पारित विधेयक तथा विषयगत प्रतिबेदन माथि गाउँसभाका सदस्य भुवन सिंजालि र वासुदेव न्यौपाने लगायतले सल्लाह सुझाव र गुनासो राखेका थिए । गाउँसभाको वैठककै अवसरमा वडा नम्बर ३ रिङ्नेरह वडाले विभिन्न क्षेत्रमा व्यवसाय गर्ने ३ जना व्यवसायिहरुलाई नगद रकम, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको थियो ।
गाउँ सभाका अध्यक्ष नुन बहादुर थापाले यही असार २२ गते ११ बजे पुनः गाउँ सभा शुरु हुने र सोही दिन अहिले पारित हुन बाँकि भएका विधेयक तथा ऐन र नीतिहरु माथि छलफल तथा सुझाव संकलन गरि पारित गरिने जानकारी गराउँदै १७ औं गाउँ सभाको तेस्रो बैठक समापन भएको घोषणा गर्नु भयो ।