रामपुर, पाल्पा । रामपुर नगरपालिका पाल्पाको न्यायीक समितिले वडाहरुमा रहेको मेलमिलाप केन्द्रमै पुगेर मेलमिलापको प्रक्रिया र मेलमिलाप केन्द्रको अनुगमन तथा अन्तरक्रिया सहित छलफल गरेको छ ।
नगरपालिकामा सुचिकृत भएका मेलमिलापकर्ताहरुले वडामा गराउने मेलमिलापको प्रक्रिया र मेलमिलाप केन्द्रको अवस्था बारे जानकारी लिन अनुगमन गरिएको रामपुर नगरपालिका न्यायीक समितिका संयोजक एवं उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो । उपप्रमुख थापाले विभिन्न प्रकारका मुद्दाको समाधान र मेलमिलापलाई अझ प्रभावकारी बनाउन छलफल सहित अनुगमन गरिएको समेत बताउनुभयो ।
समितिले वडामा पुगेर वडाबाट न्यायीक समितिमा दर्ता भएका विभिन्न मुद्दाको बारेमा छलफल गरि मेलमिलाप समेत गरेको छ । दुवै पक्षलाई सहजताका लागि वडाको मेलमिलाप केन्द्र मै छलफल गरि विवादको मेलमिलाप गराईएको जनाएको छ । समितिले रामपुर नगरपालिका वडा नं. ८ र १० मा रहेको केन्द्रको अनुगमन गर्नुका साथै विवादको मेलमिलाप समेत गराएको हो । समितिले बुधवार वडा नं. १० मा जग्गा साँध सम्बन्धी विवादको छलफल गरि मेलमिलाप गराएको छ ।
यस आर्थिक वर्षमा अहिले सम्म ८९ वटा मुद्दा न्यायीक समितिमा दर्ता भएको र त्यस मध्ये ५० वटा मुद्दाको मेलमिलाप तथा समाधान गरिएको न्यायीक समिति सचिवालय सचिव पार्वति परियारले जानकारी दिनुभयो । विवादलाई मेलमिलापको माध्यमबाट न्यायोचित रुपमा समाधान गर्नका लागि नगरपालिका भित्र ३७ जना सुचिकृत मेलमिलापकर्ता रहेका छन् । साथै नगरपालिकाले मेलमिलापलाई प्रभावकारी बनाउन नगरभित्रका १० वटै वडाका मेलमिलापकर्ताहरुलाई ४८ घण्टे अभिमुखिकरण समेत प्रदान गरेको थियो ।