तानसेन, पाल्पा । तानसेन नगरपालिका २ नम्बर वडा कार्यालयको आयोजना र प्रजातान्त्रिक विचार समाजको समन्वयमा पाल्पाको तानसेनमा रुख रोपौं वातावरण संरक्षण गरौं विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीहरुले वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको भन्दै वातावरण संरक्षण गर्नु पर्नेमा चिन्ता व्यक्त गरेका हुन् ।
उनीहरुले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृ·लता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपद्बाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवं प्रभाव बढेकाले आ–आफ्नो ठाँउबाट वातावरण जोगाउनेतर्फ लाग्नुपर्ने बताएका छन् ।
गोष्ठीमा जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार लगायतले समग्र विश्व नै ठूलो वातावरणीय संकटबाट गुज्रिरहेको बताउँदै यसको समाधानका लागि पर्याप्त मात्रमा रुख रोप्ने र त्यसको संरक्षणमा ध्यान दिई वातावरणलाई स्वच्छ र सफा बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले मानविय लापरवाहीका कारण नै वातावरण प्रदूषण हुनुको साथै जलवायु परिवर्तनको असर देखिएकाले त्यसलाई रोक्नको लागि मानिस नै सचेत हुनुपर्ने बताउनु भयो । मेयर श्रेष्ठले कानुनी जटिलताका कारण विकास निर्माणका काम वन क्षेत्रबाट अवरोध भएकाले समयानुकुल सुधार गर्नुपर्ने समेत बताउनु भयो ।
प्रजातान्त्रिक विचार समाजले वातावरण संरक्षण गर्ने उद्देश्यले जिल्लाका ८१ वटा वडामा रुखको महत्व लेखिएको ब्यानर वितरण गर्ने जनाएकोछ । समाजका अध्यक्ष प्रा।डा रामजी प्रसाद पौड्यालको अध्यक्षता, उपाध्यक्ष राधेश्याम ज्ञवालीको स्वागत र सचिव श्रीधर नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति : आइतबार, वैशाख ७, २०८२