तानसेन। पश्चिम नेपालको प्रसिद्ध धार्मिक एंव पर्यटकीय स्थल पाल्पाको भैरवनाथ मन्दिरमा भक्तजनको सहजताका लागि व्यवस्थित पार्किङ्गस्थल निर्माण गरी संचालनमा ल्याइएको छ।

दैनिक रुपमा आउने भक्तजनको संख्यामा वृद्धि भएसंगै बाढ्दो सवारीको चापलाई मध्यनगर गरी निर्माण गरिएको एकीकृत पार्किङ्गस्थल बैशाख १ गतेदेखि संचालनमा आएको हो। विगतमा व्यवस्थित पार्किङ्गस्थल नहुँदा आधा सडक ढाक्ने गरी मूल सडकमै जथाभावी सवारी साधन पार्किङ्ग हुँदा सर्वसाधारणलाई जाम लाग्ने पूजा गर्न ढिलाई हुने, पैदलयात्रीलाई समस्या हुने जस्ता समस्या बढेपछि सोको समाधान गर्नका लागि एकीकृत पार्किङ्गस्थल निर्माण गरी संचालनमा ल्याइएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनु भयो।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनाल, वडा ४ का अध्यक्ष सोम कुमार कार्की, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिलिप रायमाझीलगायतले स्थानीय सरकारको पहलमा निर्माण भएको पार्किङ्गलाई सही तरिकारले संचालन गरी भक्तजन र स्थानीयलाई सहताको वतावरण बनाउनुपर्ने बताउनु भयो ।

भक्तजन, पर्यटक र अन्य पैदलयात्री तथा मन्रि क्षेत्रका व्यापारीहरुलाई समेत सहज होस भन्ने उद्देश्यले संचालनमा ल्याइएको पार्किङ्गमा एकै पटकमा पाँच वटा मोटरसाइकल, साना गाडी १०० वटा तथा ठुला सवारी २० देखि ३० वटासम्म राख्न मिल्ने व्यवस्था गरिएको छ । गाउँपालिकाले ११ वर्षका लागि करिब १२ रोपनी जग्गा लिजमा लिएर संचालन गरेको हो । पालिकाले पाकिङ्गस्थल निर्माणका लागि भैरव बिल्डर्स एण्ड म्यानेजमेन्ट कम्पनीसंग गत फागुन २९ गते भ्याटसहित दुई लाख ४३ हजार ८८५मा सम्झौता गरी निर्माण सम्पन्न भएको थियो ।

सम्झौताअनुसार ठेक्का रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतले वृद्धि प्रावधान रहेको छ। पार्किङ शुल्क निर्धारण तथा नियमन रिब्दीकोट गाउँपालिकाले गर्छ भने उठाउने र अन्य व्यवस्थापन निर्माण कम्पनीले नै गर्नेगरी काम अघि बढाइएको योजना शाखा अधिकृत पुरन कार्कीले जानकारी दिनु भयो। भक्तजनको चाप बढ्दै जाँदा मुख्य बजार क्षेत्रको सडक नै ढाक्ने गरी हुँदै आएको पार्किङलाई स्थानीय सरकारले व्यवस्थित गरेपछि दुर्घटना हुने जोखिम घट्नुका साथै सरसफाई, बजार व्यवस्थापन र व्यववसाय वृद्धिमा समेत टेवा पुग्ने विश्वास लिएको स्थानीयले बताएका छन् ।