बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को अध्यक्षमा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ। लुम्बिनीमा सम्पन्न फोनिजको सङ्घीय अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो।

अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो। विगत १६ वर्षदेखि गोरखापत्रमा आबद्ध उहाँ गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यसमेत हुनुहुन्छ। धनगढी–५, कैलाली निवासी चौधरी यसअघि फोनिजको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । समाजशास्त्र, राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका चौधरी पत्रकारितामा दर्शनाचार्य ९एमफिल०मा अध्ययनरत हुनुहुन्छ ।

फोनिजको अध्यक्षसहितका केही पदाधिकारी निर्विरोध निर्वाचित भए पनि केही पदाधिकारीसहित खुला केन्द्रीय सदस्यका लागि निर्वाचन भएको छ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना शिल्पकार, महासचिवमा समिर बलामी र अल्पसङ्ख्यक सचिवमा लिला दरई सर्वसम्मत निर्वाचित हुनुभएको छ।

त्यसैगरी खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्ष अर्जुन तामाङ र तीन सचिवमा मिलन गाहा, एमबी मगर र सन्दिप श्रेष्ठ, महिला सचिवमा माया पालुङ निर्वाचनमार्फत चुनिनुभएको छ। सचिवमा आठ जनाको प्रतिस्पर्धा भएको छ।

१५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन भएको नवनिर्वाचित सचिव मिलन गाहाले जानकारी दिनुभयो।