तानसेन,पाल्पा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई ठुला दलहरु मिलेर सरकार बनाएपछि स्थायित्व कायम भएको दावी गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अर्थमन्त्री पौडेलले अहिलेको सत्ता गठबन्धन आगामी निर्वाचन र त्यसपछि पनि कायम रहने बताउनु भयो। दुई ठुला र इतिहास बोकेका एमाले काँग्रेस बिच सरकार बनेपछि सबै क्षेत्रमा सुधार आएको हुँदा नागरिकले महशुस गर्नेगरी काम गर्न सरकार लागि परेको समेत दावी गर्नु भयो ।

“लोकप्रियता वादको रियालिटी के हो भन्ने पछिल्ला दिनहरुमा देखा पर्न थालेको छ। राजनीति विचार र दर्शनले चल्ने र गर्दछ । सही नीति र कार्य कुशलताका लागि लामो इतिहास भएका एमाले काँग्रेसले नै आउने दिनमा मुलुकको नेतृत्व गर्नेछन् ” उहाँले भन्नु भयो।

संचारकर्मीको जिज्ञासमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्ने शिलशिलामा केही महत्वपूर्ण कामहरु गरेको बताउनु भयो।
उहाँले शुसासन, भ्रष्ट्राचार र सहकारी क्षेत्रमा देखिएका जटिलताहरु समाधान गर्नका लागि अध्यादेशको बाटोबाट कानून निर्मण गरेर अघि बढेको बताउदै
नागरिकमा केही गुनासाहरु रहेपनि ती गुनासो सम्बोधन गर्नेगरी अहिलेको सत्ता गठबन्धनले काम गर्ने दावी गर्नु भयो ।

अहिले सरकारले आगामी आर्थिक वर्षका लागि वजेट निर्माणको तयारीमा रहेको हुँदा नागरिकको जीवनस्तर र विकाससंग जोडिनेगरी काम गरिने अर्थमन्त्री पौडेलले बताउनु भयो। अर्थमन्त्री पौडेलले राजावादीहरुले संविधान र लोकतन्त्र विपरित अराजकता, प्रतिगमन र हिंसात्मक बाटो अपाएर गरेका कुनैपनि कार्यहरु स्थापित हुन नसक्ने दावी गर्नु भयो।