तानसेन, पाल्पा । बुधबार दिउँसोदेखि परेको वर्षा र रातीको हावाहुरीका कारण तानसेनमा जारी दोस्रो तानसेन महोत्सव प्रभावित भएको छ ।
बुधबार कार्यक्रमको तयारी भइरहेको बेला अचानक वर्षा र हावहाहुरी चलेपछि महोत्सवमा भाग दौड नै मच्चिएको थियो । कार्यक्रममा आफ्नो प्रस्तुती देखाउन आएका स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरु समेत आफ्नो कला देखाउनबाट बञ्चित भएका थिए ।

असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका हजारौं बाल बच्चादेखि बुढापाका बीच भागदौड भएको थियो । वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगित गरि आज सञ्चालन गर्ने तयारीमा आयोजक थिए । तर बुधबार राती नै ठूलो हावाहुरी र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबार लगायत ढलेपछि महोत्सव नै अनिश्चित बनेको छ । महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका सामान समेत हावाले उडाएको व्यापारीहरुले बताए । हावाहुरीले मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।
वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठूलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गरिने महोत्सव पाल्पा व्यापार सङ्घका अध्यक्ष विष्णु बहादुर कार्कीले बताउनुु भयो । उहाँका अनुसार महोत्सवमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वारमा क्षति पुगेको र क्षति यकिन विवरण संकलन गर्ने काम भइरहेको छ । चैत २२ गतेदेखि सञ्चालन गरिएको महोत्सव वैशाख ३ गतेसम्मका लागि तय भएको थियो ।