तानसेन, पाल्पा । बरजु गुठी तानसेन पाल्पाले आफ्नो परम्परागत नेवारी कला संस्कृती संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले एक दिने नेवारी भोज कार्यक्रम सम्पन्न गरेको छ ।

नेवारी समुदायमा कला संस्कृती र रहनसहनको पुस्तान्तरण गर्र्न भोजनमा सहभागी गराउने र नेवारी भोजको प्रचार प्रसार गर्ने अभियानका साथ सयौ स्वयमसेवक परिचालन गरेर २४ प्रकारको खानाको परिकार सहित नेवारी भोज संचालन गरेको अध्यक्ष प्रविन बज्राचार्यले बताउनु भयो ।

बाउबाजेले गरेको अभ्यास केही रुपमा बाबा पुस्ताले छोडे, केही रुपमा नाती पुस्ताले छोडे र आज लोपन्मुख अवस्थामा पुगेको परम्परागत रहन सहन खानपानलाई जोगाउन यस्तो अभियानहरु निरन्तर रुपमा चलाउनु पर्ने भोजमा सहभागी तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनु भयो । बढ्दो पश्चिमा संस्कृती, आधुनिक तथा व्यबस्त जिवनशैली, बढ्दो होटल रेष्टुराको कारण लोपन्मुख अवस्थामा पुगेको परम्परागत नेवारी भोजलाई जोगाउन, छोरा छोरीलाई आफ्नो पहिचान सिकाउन, समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको गुठीका महासचिव धिरज बहादुर बज्राचार्यले बताउनु भयो ।

परम्परागत नेवारी भोजनमा सक÷वास, पात÷ ल्हापा, चिउरा, फिनी रोटी, छोइला, केराउ समाबेश गरिएको हुन्छ भने खान वसेका पाहुनाहरुलाई माटोको भाडाँमा वास राखिदिने प्रचलन रहेको छ । सालको टपरीमा पाँच प्रकारको खान राखेपछि पुन चिउरा, पंचकोल, आलु तामा, आलु गोवी, खसीको मासु, मटर पनिर, चुकाउनी, अचार, भ्यात्तल, मुला गाजर, मेथीको रस र वास दिईन्छ ।

यो खान खाएपछि खसिको भुटुवा, वास, चिउरा, चिनी, दही, फलफूल, केरा, स्याउ खान दिईन्छ । सबै परिकार खाएपछी दातमा अड्किएको खानेकुरा निकाल्न बासको सिन्का दिएपछी नेवारी भोजन परिकार पुरा हुने कार्यक्रमका संयोजक बाबुरत्न शाक्यले बताउनु भयो । पाहुनालाई २४ प्रकारका भोजन खाएर सन्तुष्ट पार्ने सबै जातजाती भाषा भाषी तथा धर्मालम्वीहरु लाई सामुहिक रुपमा परम्परागत नेवारी भोजमा सहभागी गराएर अन्य जातजातीहरु लाई पनि सिकाउने बरजु गुठीको उद्देश्य रहेको उपाध्यक्ष दिनेश बज्राचार्यले बताउनु भयो ।

बरजु गुठीमा तानसेनका शाक्य र बज्राचार्यका २ सय ५० घरपरिवारका ६ सय जना पारिवारिक सदस्यहरु जोडिएका छन । २०७१ सालमा स्थापना भएको बरजु गुठीले नेवारी कला संस्कृती रहन सहन भेषभुषाको संरक्षण तथा जर्गेनाको काम गर्दै आएको छ । भोजन शुरु गर्नु अघि बौद्ध पुजारी चिनियामान बज्राचार्य नेवारी परम्परा अनुसार पुजाआजा गर्नु भएको थियो ।