दाङ । आर्थिक वर्ष २०८१/०८२ को असार सम्म बेरुजु शुन्य बनाउने स्वास्थ्य मन्त्रालय लुम्बिनीले प्रतिवद्धता जनाएको छ । स्वास्थ्य मन्त्रालयसहित लुम्बिनी प्रदेशका सबै अस्पतालहरु र स्वास्थ्य कार्यालयहरुले बेरुजु शुन्य बनाउने प्रतिवद्धता जनाएका हुन् ।
स्वास्थ्य मन्त्रालय लुम्बिनी मातहतका सबै अस्पताल र स्वास्थ्य कार्यालयहरुले बेरुजु शुन्य बनाउने प्रतिवद्धतामा हस्ताक्षर गरेका हुन् । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य कार्यालय र निकायहरूमा शून्य बेरुजुका लागि विशेष कार्ययोजना निर्माण गरेर लागू गर्न निर्देशन दिएपछि प्रतिवद्धता जनाएका हुन् ।

मन्त्री सारुले हरेक कार्यालय सफल हुनका लागि योजना बनाउने, काम गर्ने र निगरानी बढाउन जरुरी रहेको भन्दै शून्य बेरुजु भएका कार्यालयहरूको अनुभव आदानप्रदान गर्ने र सोही अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्न निर्देशन दिनुभएको हो । आर्थिक सुशासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकता र महत्वलाई जोड दिएर काम गर्न मन्त्री सारुले निर्देशन दिनुभयो ।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतका सबै अस्पताल, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयका प्रमुखहरूले निर्देशन अनुसार बेरुजु शुन्य बनाउन कार्ययोजना बनाएर कडाईका साथ लागु गर्ने प्रतिवद्धता जनाएको स्वास्थ्य मन्त्रालय लुम्बिनीले जनाएको छ ।

यसअघि बेरुजुको समीक्षा गोष्ठी तथा शून्य बेरुजु प्रोत्साहन कार्यक्रमको आयोजना गरी छलफल तथा अन्तर्किया कार्यक्रम समेत गरिएको थियो । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतका सबै अस्पताल, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयका प्रमुखहरूको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारी, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठलगायतले आर्थिक सुशासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकता र महत्वलाई जोड दिनु भएको थियो ।
यस्तै आम नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रशासनिक निकायलाई उत्तरदायी बन्न आग्रह गरिनुका साथै शून्य बेरुजु प्रोत्साहन कार्यक्रममार्फत सरकारी स्रोतको सही उपयोग र दक्षतापूर्वक काम गर्न सरकारको प्राथमिकता रहेको उल्लेख गरिएको थियो । प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१