काठमाडौँ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ ।
पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ ।
जलवायु परिवर्तनले संसारभर पारेको प्रभाव हरितगृह ग्याँस उत्सर्जन, हिमनदी र हिमताल फुट्ने खतरा बढेको सन्दर्भलाई मनन् गर्दै अगाडि बढ्नु जरुरी भइसकेको छ । नेपाल जलस्रोतमा धनी मुलुक भए पनि उचित व्यवस्थापनको अभावमा नागरिकले उचित मात्रामा पानी पाउन नसकेको, उचित उपयोग हुन नसकेको तथा नीतिगत रूपमा समेत प्रभावकारी व्यवस्थापन हुन नसकेको सन्दर्भमा पानी दिवसले महत्वपूर्ण शिक्षा दिनेछ ।
सरकारले नेपालमा पानी र ऊर्जाबीचको अन्तरसम्बन्धका बारेमा जनचेतना जागृत गर्न, जल उपयोग नीतिगत तहमा बहस चलाउन, जल तथा ऊर्जा क्षेत्रका सरोकारवालाको पहिचान जल तथा ऊर्जाबीचको अन्तरसम्बन्धको विषयमा सरोकार भएका पक्षलाई सक्रिय बनाउने साथै जल र ऊर्जाको क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई एउटै छातामुनि ल्याउने उद्देश्यसहित साताव्यापी कार्यक्रम गर्दै आएको छ ।
नेपालका अधिकांश नदी हिमाल केन्द्रित रहे पनि जलवायु परिवर्तनका कारण समस्या बढेको चर्चा चलिरहेका बेला हिमनदीको संरक्षणलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।
प्रकाशन मिति २०८१ चैत्र ९ गते, शनिबार