बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर (वसन्त) ले राजनीतिक तथा आर्थिक अधिकारले महिला सशक्तीकरणको नारालाई सार्थक बनाउने बताउनु भएको छ।

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले उद्यमशीलता नै महिलाको आर्थिक सशक्तीकरणको प्रमुख माध्यम हुने समेत बताउनु भएको छ । सभामुख घर्ती मगरले महिला दिवसको ऐतिहासिक पृष्ठभूमि स्मरण गराउँदै सन् १९११ मा क्लारा जेट्किनले महिला श्रमिकमाथि भइरहेको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनकै सम्झनामा विश्वभर यो दिवस मनाइँदै आएको बताउनु भयो।

उहाँले नेपालका विभिन्न परिवर्तनका आन्दोलनहरूमा महिलाले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन तथा अन्य संघर्षहरूमा महिलाहरू अग्रमोर्चामा रहेको उल्लेख गर्नु भयो। “नेपालको राजनीतिक परिवर्तनमा महिलाहरूले पुर्याएको योगदान उच्च सम्मानको पात्र छ,” सभामुख घर्ती मगरले शुभकामना सन्देशमा भन्नु भयो।

नेपालमा महिला अधिकारलाई संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको बताउँदै राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हक अधिकारको प्रत्याभूति गर्न तीन तहका सरकारहरू प्रतिबद्ध हुनुपर्नेमा जोड दिनु भयो। महिला सशक्तीकरणका लागि लैङ्गिक समानतामा आधारित नीति आवश्यक रहेको बताउँदै उहाँले यस वर्षको महिला दिवसको राष्ट्रिय नारा “सबै महिला तथा बालबालिकाका लागि अधिकार, समानता र सशक्तीकरण” लाई सार्थक तुल्याउन सबै सरोकारवालाहरू जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताउनु भयो।