विष्णु जिसी
माथागढी, पाल्पा । माथागढी गाउँपालिका पाल्पामा नसर्ने रोग नियन्त्रण तथा स्वस्थ जीवनशैली प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा माथागढीका स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुबीच नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्धन गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले संसारमा सर्ने रोगको समस्या भन्दा नसर्ने रोगको व्यापकता तथा जोखिम निरन्तर बढ्दै गइरहेको अवस्था रहेको बताउनुभयो ।
नेपालमा समेत विभिन्न समयमा भएका अध्ययन तथा अनुसन्धानले नसर्ने रोगको व्यापकतासँगै भयावह अवस्था आउन सक्ने चेतावनी दिएको भन्दै अध्यक्ष चिदीले सबैभन्दा बढी समस्या मुटुसम्बन्धी समस्या वा हृदयघात, दोस्रोमा क्यान्सर, तेस्रोमा श्वासप्रश्वास सम्बन्धी समस्या र चौथोमा मधुमेह रोगको समस्या नेपालका पनि प्रमुख नसर्ने रोगका चुनौती भएको बताउनुभयो ।
कार्यक्रममा माथागढी गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले नसर्ने रोगका जोखिम तत्वको पहिचान गरी समयमै उपयुक्त कदम नचाल्ने हो भने थप भयावह अवस्था सिर्जना हुनसक्ने बताउनुभयो । माथागढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले सबै किसिमका नसर्ने रोगहरूको मृत्युको प्रमुख कारण सूर्ती तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक निष्क्रियता, मद्यपानको अनियन्त्रित सेवन, अस्वस्थकर भोजन र वायु प्रदूषण भएको बताउनुभयो ।
कार्यक्रमको सहजिकरण गर्दै पाल्पा अस्पतालका मेडिकल अधिकृत विवेक पौडेलले नसर्ने रोगहरू शरीरको आन्तरिक प्रक्रियामा गडबडी वा असन्तुलन हुँदा देखा पर्ने बताउनु भयो । उहाँले व्यक्तिको जीवनशैली, आनीबानी, व्यवहार, मानसिक असन्तुलन, हार्मोनको असन्तुलन, खानपिन जस्ता विभिन्न कारणले देखा पर्ने समेत उल्लेख गर्नु भयो ।
क्यान्सर, मधुमेह, ग्यास्ट्राइटिस, अम्लपित्त, पत्थरी, उच्च रक्तचाप, मुटुका रोगहरू, मिर्गौलाका रोगहरू, हाडजोर्नी तथा नसासम्बन्धी रोगहरू, बाथ, मानसिक रोगहरू, चोटपटक र दुर्घटनाका कारण हुने अशक्तता आदि नसर्ने रोगका उदाहरण भएको पौडेलले बताउनु भयो ।