देवीनगर, पाल्पा । भिमसेन प्राथमिक विद्यालय देवीनगर पाल्पाको अभिभावक भेला सम्पन्न भएको छ ।
भेलाले विद्यालयलाई थप व्यवस्थित एवं शैक्षिक गुणस्तर बृद्धिका लागि विभिन्न सल्लाह सुझावहरु दिएको छ । यसका साथै भेलामा उपस्थित अभिभावकहरुले विद्यालयको मञ्च निर्माण र विद्यालय वरीपरि सरसफाई गरेका छन् । आफ्ना छोराछोरी पढ्ने विद्यालयलाई माया गरी विद्यालयको प्रगतिमा साथ दिने सवैलाई प्रधानाध्यापक राधा सिके लगायत विद्यालय परिवारले धन्यबाद दिएका छन् ।

बसाइसराइँ तथा कम जन्म दरका कारणले गाउँघरका विद्यालय खाली हुने अवस्थामा पुगेको यो विद्यालयमा हाल बाल कक्षादेखि ५ कक्षासम्म पढाई भईरहेको छ । यहाँका जनसमुदाय, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ एवम् शिक्षकहरुको नियमित प्रयास र लगनशीलताले अहिले यो विद्यालय विस्तारै प्रगति र सुधारतर्फ लम्किएको छ ।
विद्यालयमा बाल क्लव गठन गरिएको छ । हरेक महिनाको अन्तिममा विद्यार्थीहरुले महिनाभरि गरेका अतिरिक्त क्रियाकलाप सम्बन्धी जानकारी, लेख रचना प्रकाशन गर्छन् ।

अभिभावक भेला नियमित हुने गरेको कारण नै विद्यालय र समुदायको सम्बन्ध सुमधुर रहेको प्रधानाध्यापक सिकेले बताउनु भयो । उहाँका अनुसार समुदायबाट विद्यालयले निरन्तर सहयोग पाइरहेको छ भने विद्यालयको भौतिक तथा शैक्षिक छलफलमा सरोकारवालाको नियमित उपस्थिति रहेको छ ।

वि.सं. २०१७ साल फागुन ७ गते स्थापना भएको यस भीमसेन प्राथमिक विद्यालयमा विव्यस र शिक्षक अभिभावक संघको राम्रो सहयोग रहेको र नियमित बैठक तथा अनुगमन हुने गरेको विव्यस अध्यक्ष शेरबहादुर गाहाले बताउनु भयो।