रासस
घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि सयपत्रिका फुल ढकमक्क फुलेका छन् । उहाँ बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त छन् ।

उहाँले भन्नु भयो“आजभोलि फूल रु चार सय किलो र माला रु सात सय ६५ देखि रु सात सय ९० सम्ममा बिक्री गर्दै आएका छु । ” चाडपर्वमा मात्रै नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा गरिएको फूलखेतीबाट उहाँ सन्तुष्ट छन् । उहाँको फूलखेतीबाट आम्दानीको पाटो पनि राम्रो भएको छ, । फूलखेती गर्नुभन्दा अघि उहाँ वैदेशिक रोजगारमा हुनुहुन्थ्यो । “विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँं”, उहाँले भन्नु भयो, “ बाहिरी देशमा कमाएको भन्दा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ ।” रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताउनु भएका रोकामगरले जिल्लामा दसैँ, तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थाल्नु भएको हो। उहाँले विगत १२ वर्षदेखि फूलखेती गर्दै आउनु भएको छ । उहाँले गएको तिहारको समयमा डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गर्नुभएको थियो भने हाल दुई कठ्ठामा सयपत्रीका फूल उत्पादन गरिरहनु भएको छ । अहिले घोराही, तुलसीपुर, लमहीलगायत ठाउँबाट फूलमालाको माग आइरहेको बताउनुभयो ।

“जिल्लामा चाडपर्वको समयमा मात्र फूलखेती गर्ने किसान धेरै भएकाले बेमौसमी समयमा माग अनुसारको फूलमाला पुर्याउनै सकिरहेको छैन”, उहाँले भन्नु भयो, “यो समयमा फूल चिसोका कारण मर्ने भएकाले धेरै जोगाउन समस्या भएको हुँदा बढी क्षेत्रफलमा फूलखेती गर्न सकिँदैन, फागुन पहिलो हप्ताबाट बिक्री गर्न सुरु गरेको फूल जेठसम्म रहने छ ।” विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगायतका कार्यमा फूलमाला बिक्री भइरहेको उहाँ बताउनु हुन्छ ।

घोराही–१४, झिङ्गौरामा यही फागुन २ देखि १८ गतेसम्म सञ्चालन भएको छैटौँ कृषि, पर्यटन तथा व्यापार महोत्सवमा किसान मगरले फूल, माला तथा विभिन्न फूलका बिरुवा बिक्री गरेर एक लाख ५० हजार बढी आम्दानी गरेको बताउनुभयो। साथै उहाँले विवाहको माला पनि तयार पारेर बिक्री गर्दै आउनु भएको छ । उक्त माला रु एक हजारमा बिक्री गर्ने गर्नु भएको छ।