तानसेन, पाल्पा । युनाइटेड मिसन अस्पतालकी निर्देशक डा. रचेल कारख औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कारबाट सम्मानित हुनु भएको छ ।

युकेमा जन्म भई नेपालको पाल्पालाई कर्मथलो बनाउँदै विगत ३१ वर्षदेखि निरन्तर मिसन अस्पताल पाल्पामा कार्यरत डा.कारखलाई स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाल औषधि व्यवसायी संघ पाल्पाले आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशनको अवसरमा ‘औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार’ बाट पुरस्कृत गरेको हो ।

उहाँलाई नगद १० हजारसहित सम्मानपत्रबाट लुुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, पुरस्कारदाता संघका पूर्व अध्यक्ष रुक्मागत शर्मा र संघका अध्यक्ष विष्णु केसी लगायतले संयुक्तरुपमा सम्मान गरेका हुन् । सन १९९४ मा नेपाल आउनु भएका कारखले मिसन अस्पतालबाट आफ्नो सेवा प्रारम्भ गर्नु भएको थियो। सन २००२ देखि २००४ सम्म मेडिकल सुपरडेन्डेनको रुपमा काम गर्नु भएका डा. कारखले २००४ देखि हालसम्म भने अस्पतालको निर्देशकको रुपमा जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

सम्मान ग्रहण गर्दै डा. कारखले अध्ययन गर्दा नै नेपालमा गएर सेवा गर्ने मनैदेखि इच्छा भएकाले आफु पाल्पा आएर सेवा गर्ने अवसर पाएको स्मरण गर्नु भयो । उहाँले आफ्नो योगदानलाई कदर गरी पुरस्कृत गरेकोमा औषधि व्यवसायी संघलाई हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिनु भयो ।

संघले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका एक जनालाई उक्त पुरस्कार दिर्दै आएको छ । स्वास्थ्यकर्मी तथा संघका पूर्व अध्यक्ष रुक्मागत शर्माले १ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरी उक्त पुरस्कार स्थापना गरिदिनु भएको थियो । पाल्पामा जन्मिएर स्वास्थ्य क्षेत्रमा कम्तिमा २० वर्ष सेवा गरेका स्वास्थ्यकर्मी तथा औषधि व्यवसायीलाई हरेक वर्ष सो पुरस्कार प्रदान गरिने अक्षकोषदाता शर्माले बताउनु भयो ।