दिल बहादुर खन्गाहा
निस्दी, पाल्पा । निस्दी गाउँपालिका पाल्पाको आयोजना तथा पाल्पा मेट्रोसिटी हस्पिटल प्रालि रामपुरको प्राविधिक सहयोगमा ज्यामिरे र गल्धाको ढुंगानावेशीमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा महिलाहरूको प्रजनन रुग्णता (पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्याको परीक्षण तथा उपचार) र परिवार योजना सेवा प्रदान गरिएको थियो ।

जनता माध्यमिक विद्यालय निस्दी ५ गल्धाको ढुंगानावेशीमा सम्पन्न शिविरमा ३ सय ७६ जनाको सामान्य स्वास्थ्य जाँच उपचार, २ सय ६६ जनाको नसर्ने रोग स्क्रिनिङ साथै ९१ जनाको भिडियो एक्सरे गरिएको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले जानकारी दिनुभयो । त्यसैगरी मुटुरोग सम्बन्धि ४० जनाको इसीजी सेवा र २५ जनाको फिजियोथेरापी गरिएको थियो ।

शिविरमा ९१ जना महिलाको पाठेघरको मुखको क्यान्सर भिआईए जाँच गरेकोमा १ जनालाई पोजिटिभ थर्मोकोगुलेशन विधिबाट उपचार गरिएको छ । साथै ६ जनामा आङ खस्ने समस्या, ५ जनाले रिङ प्रेसरी राखेको, २ जनाले आईयुसिडी र २ जनाले इम्पलन्ट सेवा लिएको संयोजक दिशाले बताउनु भयो ।

यस्तै ज्यामिरेमा सम्पन्न शिविरमा १०१ जनाको पाठेघर मुखको क्यान्सर जाँच गर्दा २ जनाको पोजेटिभ देखिएको थियो । शिविरमा ९ जनाले IUCD सेवा, ४ जनाले Implant सेवा र ३ जनाले Ring pressry सेवा लिएका थिए । शिविरमा परिवार नियोजन सेवा प्रदान सम्बन्धि परिवार नियोजन संघ पाल्पाको समेत प्राविधिक सहयोग रहेको थियो । शिविरमा पाल्पा मेट्रोसिटी हस्पिटल प्रालि रामपुरका डाक्टर भिमसेन सुनार र निर्देशक मनिषा सेन्चुरी लगायत निस्दीमा कार्यरत स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका थिए ।